सुनसरीमा हावाहुरीको वितण्डा : मकैखेतीमा व्यापक क्षति, कृषक चिन्तित

काठमाडौँ, बैशाख १९ । बुधबार राति आएको विनाशकारी हावाहुरीका कारण सुनसरी जिल्लाका विभिन्न स्थानमा लगाइएको व्यावसायिक मकैखेतीमा ठुलो क्षति पुगेको छ । जिल्लाको सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज लगायतका स्थानीय तहमा हुरीले मकै बाली नष्ट गरेको हो ।

पछिल्लो समय गहुँ खेतीको विकल्पमा मकैतर्फ आकर्षित भएका कृषकहरू उत्पादन भित्र्याउने समयमा आएको प्राकृतिक विपद्ले मर्माहत भएका छन् । भोक्राहा-६ का कृषक नगेन्द्रकुमार साहका अनुसार हुरीले मकैका बोटहरू ढालेपछि लगानी समेत नउठ्ने अवस्था सिर्जना भएको छ । “मैले एक बिघा १५ कठ्ठा जग्गामा करिब १ लाख ५० हजार रुपियाँ लगानी गरेर मकैखेती गरेको थिएँ,” कृषक साहले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “राम्रो उत्पादन भएमा ४ लाख रुपैयाँसम्म आम्दानी हुने आशा थियो, तर अहिले लगानी नै डुब्ने अवस्था आएको छ ।”

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले हावाहुरीका कारण मकैको उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउन सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ । उहाँले भन्नुभयो, “जिल्लामा धेरै कृषकहरू व्यावसायिक मकैखेतीतर्फ मोडिएका छन्, तर यस्ता आकस्मिक विपद्ले उनीहरूलाई ठुलो आर्थिक क्षति पुर्‍याउने गरेको छ । हामी अहिले क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेका छौँ ।”

तथ्याङ्क अनुसार सुनसरी जिल्लामा यस वर्ष ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखेती गरिएको थियो । हुरीले मकै बालीमा पुर्‍याएको क्षतिका कारण यस वर्ष जिल्लाको समग्र कृषि उत्पादन र कृषकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *