महोत्तरीमा भीषण आगलागी

 

fires
गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि गाविसमा आज बिहान भीषण आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।

लोहारपट्टि गाविस–३ रामजानकी चौकस्थित लोहारपट्टि बजारमा रहेका सदाम शेषको एसएम मोबाइल एण्ड ल्यापटप मर्मत सेन्टर र साजन टेन्ट हाउस, रामगोविन्द ठाकुरको गोविन्द मेडिकल हल र पुजन साहको हरहर महादेव सहकारी संस्थामा भएको भीषण आगलागीबाट रु १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

बिहान करिब ३÷४ बजेको समयमा भएको सो आगलागीमा परी मोबाइल र ल्यापटप पसलका ३०० बढी मोबाइल, पाँच थान ल्यापटप त्यस्तै टेन्ट हाउसका भाँडाकुँडा, फर्निचर, कपडालगायत विभिन्न वस्तु गरी रु १० लाख, मेडिकल हलका रु तीन लाख बढीको औषधि र सहकारी संस्थाभित्र रहेका रु तीन लाख बढीको मल र खाद्यान्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहान चलेको तेज गतिको हावाहुरीका कारण विद्युत् सर्ट भई आगलागी भएको पसलेले अनुमान गरेका छन् भने प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

एकैसाथ चारवटा पसलमा भएको आगलागी स्थानीयवासीले तीन÷चार घन्टापछि नियन्त्रणमा लिएको स्थानीयवासी अली हुसैनले बताउनुभयो ।