ओली सरकारले राष्ट्रवादी काम गरेको भन्दै थापाव्दारा प्रशंसा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गोरखा जिल्ला पुगेर पनि केपी ओली नेतृत्वको सरकारको प्रशंसा गर्नुभएको छ । उहाँले केपी ओली नेतृत्वको सरकारले राष्ट्रवादी काम गर्दै गरेका बेला वाह्य चलखेल र चरम सत्तास्वार्थका कारण सरकार ढलेको आरोप लगाउनु भयो ।
‘राजनीतिक स्थिरता नभएकोले विकास निर्माणका कार्यहरु लक्ष्य अनुरुप अगाडि बढ्न सकेका छैनन्,’ उहाँले भन्नुभयो ‘राप्रपा नेपालको सहभागिता रहेको अघिल्लो सरकारले स्थानीय निकायको अनुदान र सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएको थियो ।’ उहाँले ओली सरकारका पालमा जनताका पक्षमा उदाहरणीय काम भएको पनि उल्लेख गर्नुभयो । ‘ओली सरकारमा रहँदा राप्रपा नेपालले पनि जनताका पक्षमा उदाहरणीय कार्यको थालनी गरेको थियो,’ उहाँले भन्नुभयो ‘तर बीचैमा सरकार ढलेकाले काम गर्न सकिएन ।’ उहाँले प्रजातन्त्रको आवरणमा देशका महत्वपूर्ण उद्योग, कलकारखानाहरु कौडिको मोलमा बेचेर युवाहरुलाई विदेशिन वाध्य बनाउनेहरुले मुलुकको विकास गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । राप्रपा नेपाल गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गोरखा आउँदा आफूलाई पृथ्वीनारायण शाहलाई देखेजस्तो, भेटेजस्तो र उहाँ हिँडेकै बाटो हिँडिरहेको जस्तो अनुभूति भएको बताउँदै नेपाललाई समुन्नत बनाउने पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई साकार पार्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । राष्ट्रियता, प्रजातन्त्र र हिन्दुत्वको जगमा उभिएर सवल, समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने राप्रपा नेपालको चाहना रहेको उहाँले स्पष्ट पार्नुभयो ।