प्रचण्डजीको नियत नै खराब छ —
उपेन्द्र यादव,अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

maitrinews

Upendra Yadav

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई औचित्यहीन भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड स्वय्ले पनि भारत भ्रमणलाई हल्काफुल्का रुपमा हेरेको आरोप यादवले लगाउनुभयो । प्रचण्ड कुनै पनि एजेण्डा लिएर भारत भ्रमणमा गएको जस्तो आफूलाई नलागेको पनि आरोप लगाउनुभयो । भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मधेसवादी दलहरुसँग सामान्य छलफल समेत नगरेको पनि आरोप लगाउनुभयो । प्रचण्ड चार दिने औपचारिक भारत भ्रमण सकेर आजै नेपाल फर्किने कार्यक्रम छ । तर, उहाँलाई नै प्रधानमन्त्री निर्वाचित गर्न निकै ठूलो भूमिका खेलेको मधेसी मोर्चा र त्यसमा संलग्न एक दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने प्रचण्डको भारत भ्रमण घुमफिरका लागि जस्तो मात्र भएको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डले मधेसका मुद्धामा सामान्य पनि छलफल नगरेको भन्दै मधेसका मुद्धालाई छिनोफानो नगरी प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्नुको समेत औचित्य नभएको बताउनु भएको छ । यीनै विषयमा केन्द्रित भएर मैत्री न्युज डटकमले यादवसँग गरेको कुराकानीः

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमण पूरा गरि आज स्वदेश फर्किदै हुनुहुन्छ । उहाँको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?

उहाँको भारत भ्रमणलाई अति सामान्य रुपमा लिएको छु । नेपालमा प्रधानमन्त्री भएपछि भारत जाने हतारो हुन्छ । उहाँले पनि प्रधानमन्त्री निर्वाचित भएपछि सबै भन्दा पहिला भारत नै जाने हतारो गर्नुभयो र उहाँ भारत भ्रमणमा जानुभयो । भारतले पनि नेपालमा प्रधानमन्त्री निर्वाचित भएपछि सबै भन्दा पहिला भारतमै निम्तो गर्छ । उहाँ त्यही अनुसार जानुभयो । पहिला–पहिलाका प्रधानमन्त्री पनि प्रधानमन्त्री निर्वाचित भएपछि भारत जाने–आउने गर्नुहुन्थ्यो । उहाँले पनि त्यही गर्नुभयो ।

तराई–मधेसमा आन्दोलन जारी राखेका दलका मागलाई प्रचण्डले दिल्ली सरकारसँग पनि जोडदार रुपमा उठाउँने अपेक्षा गरिएको थियो । तर, उहाँले दिल्ली सरकारसँग त्यस्तो केही प्रस्ताव गर्नुभएन भन्ने गुनासो तपाईंहरुको छ भन्ने चर्चा बाहिर आएको छ नि ?

तराई–मधेस, आदिवासी–जनजाति, उत्पीडितका मुद्धालाई पन्छाएर यो देश अघि बढ्न नै सक्दैन । देशको त कुरै छाड्नु होस, सत्ता पनि अघि बढ्न सक्दैन । यो यथार्थलाई सबैले बुझेका छन् र बुझ्नु पनि पर्छ । त्यो कुरालाई अहिलेका प्रधानमन्त्री प्रचण्डजीले बुझ्नुहोस भन्ने मेरो आग्रह छ ।

भारत भ्रमण जानु अघि उहाँलाई नै प्रधानमन्त्री निर्वाचित गर्न निकै ठूलो भूमिका खेल्नु भएका तपाईँहरुसँग समेत उहाँले सामान्य छलफलसमेत गर्नुभएन भन्ने छ नि ?

भारत भ्रमणका विषयमा हामीसँग छलफल गर्नुपर्ने कुनै कारण नै थिएन । त्यो सरकारले गर्ने कुरा भयो । त्यो सबै जिम्मा उहाँहरुलाई नै भयो । त्यसमा हाम्रो कुनै गुनासो छैन । हाम्रो भनाई चाहिँ के हो भने उहाँले आन्तरिक समस्यालाई हल गरेर गएको भए हुने थियो । त्यसमा उहाँको गम्भीर कमजोरी रहेको हामीले महशुस गरेका छौँ । अहिले उहाँ भारत जाँदा पनि मधेस मुद्धा र संविधानकै विषय बढी उठ्यो हामीले पनि मूख्य गरेर त्यही कुरा गरिहेका छौँ । उहाँले त्यही समस्या हल नगरि जाँदा उचित भएन भन्ने हाम्रो भनाई हो । उहाँले त्यसको महत्व बुझ्नु भएन ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण लगत्तै अमेरिका भ्रमणको तयारी गर्नुभएको छ । तपाईँहरुले उहाँलाई अमेरिका भ्रमण नगर्ने सल्लाह दिएको भन्ने कुरा पनि बाहिर आएको छ । के साच्चै हो ?

आन्तरिक समस्या हल नगरी अमेरिका भ्रमण जानुको कुनै औचित्य छैन । हामीले त्यही भन्दै आएका छौँ । उहाँ अमेरिका जुन प्रयोजनका लागि जाँदै हुनुहुन्छ । त्यहाँ मन्त्री वा सचिवलाई पठाउँदा हुन्छ । उहाँ नै जानुपर्छ भन्ने कुनै जरुरी छैन । त्यसैले उहाँले अमेरिकाको हतार भन्दा पनि देशको आन्तरिक समस्या समाधानमा जोड दिदाँ राम्रो हुन्छ । मुलुक जर्जर भै सक्यो । प्रधानमन्त्रीको भारत, चीन वा अमेरिका भ्रमण भन्दा यो जर्जर भएको देशको समस्या समाधान गर्नु पहिलो र प्रमुख काम हो । उहाँले राष्ट्रिय मुद्धा र एजेण्डा के हुन ? त्यसको समस्या समाधानमा प्रधानमन्त्री लाग्ने हो । त्यसले उहाँको, देशको र जनताको सबैको हित हुन्छ ।

मधेसका मुद्धामा सरकारले केही ढिलासुस्ती ग¥यो भन्ने तपाईँहरुको गुनासो हो ?

ढिलासुस्ती मात्र होइन, सरकारले काम नै गरेको छैन । प्रधानमन्त्री जी कता रमाइ रहनु भएको छ । हामीलाई नै थाहा छैन । संघीय समाजवादी फोरम नेपाल अहिले होइन धेरै वर्ष पहिलादेखि नै संविधानसभाको पक्षमा रहँदै आएको पार्टी हो । संविधानसभा मार्फत नै सबै जाती, क्षेत्र र समूदायको मुक्ति हुन्छ । उनीहरुका हक–अधिकार सुरक्षित हुन्छन् भन्ने पक्षमा वकालत गर्दै आएको पार्टी पनि संघीय समाजवादी फोरम नेपाल नै हो । सबै भन्दा बढी मधेसी जनताको हकहितमा लडेको पार्टी पनि संघीय समाजवादी फोरम नेपालनै हो । यसको स्थापना पनि त्यसैको जगमा भएको हो । जहाँसम्म संविधान कार्यान्वयन हुने–नहुने भन्ने सन्दर्भ छ । यसमा हामीले पहल्यैदेखि विमती राख्दै आएका छौँ । मधेसी जनतालाई वाइपास गरेर जारी गरेको संविधानका पक्षमा हामी छैनौँ । हामीले संविधान जारी भएपछि मधेसी, उत्पिडित र आदीवासी–जनजातीका पक्षमा संविधान भएन भनेर आन्दोलन गरेको सबैलाई जानकारी भएकै कुरा हो । संविधान जारी भएपछि एमालेका केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनुभयो । तर उहाँको नेतृत्वको सरकारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न सकेन । जुन खालको राजनीतिक अवस्था देखा प¥यो । त्यसलाई हल गर्न नसकेकै कारण हामी पनि विकल्प खोज्न बाध्य भयौँ । तर, अहिले उहाँहरुले पनि मधेसको मुद्धामा चासो नदेखाउनुले शंका उत्पन्न भएको छ । हामीले प्रचण्डजीलाई सम्झौताका आधारमा मत दिएको हो । उहाँले त्यो कार्यान्वयन गर्न सक्नु भएन ।

अब हुने अपेक्षा गर्नुभएको छ ?

उहाँ आजै भारतबाट फर्किदैँ हुनुहुन्छ । अब आशा गरौँ । उहाँले अमेरिका भ्रमणलाई नै स्थगन गरेर हाम्रो समस्या समाधानमा लाग्नुभयो भने हामी उहाँलाई ठीक छ भनाँैला । तर, उहाँको नियत नै ठीक देखेको छैन ।

उहाँको नियत नै ठीक भएन भने त । तपाईँहरुले विकल्प नै खोज्नु होला नि त ?

केही समय हामी उहाँलाई विचार गर्छौ र हामी नयाँ ढंगले अघि बढ्छौँ ।

नयाँ ढंगले अघि बढ्छौ भनेको के फेरि आन्दोलन गर्ने भन्ने हो ?

हो, हामी सत्तापक्ष वा विपक्षसँग कुनै सरोकार राख्दैनौँ । हामी हाम्रा मागमा सरोकार राख्छौँ । हामीले सत्तामा जान वा मन्त्री खानका लागि कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन गरेको होइन । हामीले प्रचण्ड प्रधानमन्त्री निर्वाचित गर्नु अघि तीन बुँदे सहमति गरेका छौँ । त्यसैका आधारमा प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । तीन बुँदे सहमित जन्मिएको नै मुख्य भनेको संविधान संशोधन गर्ने, पुर्नलेखन गर्ने र खास गरेर मधेसका जनताका अधिकारका सवाल, आदिवासी–जनजातिका सवालहरुलाई हल गर्ने भनेर हो । त्यसैले सरकारले अरु कतातिर के भनेर अलमलिने भन्दा पनि समस्या समाधान कतातिर हो भनेर ध्यान दिनुपर्छ । हामी हाम्रा मागमा प्रष्ट छौँ । वर्तमान सरकारले हाम्रा माग पूरा गरेन भने हामी सधैँभरी काँध हालेर बस्न सक्दैनौँ, हामी विकल्प खोज्छौँ ।

भनेपछि त संविधान कार्यान्वयनमा त समस्या होला नि ?

मैले अघि माथि पनि भने । कांग्रेस, एमाले र माओवादीको मिलेमतोमा संविधान जारी भयो । हामी त्यो संविधानको विपक्षमा थियौँ । त्यसैबेला ओली नेतृत्वको सरकार बन्यो । त्यो सरकारले समस्या समाधान गर्नेतिर भन्दा पनि उसले आदिवासी–जनजाति, मधेसी, उत्पिडित, दलित आदिका समस्या समाधान चासो नै देखाएन । एकलौटी रुपमा सरकार सञ्चालन गर्न थाल्यो । ओली सरकारको निरंकुशताकै कारण मधेस आन्दोलन चर्किएको थियो । त्यति मात्र होइन । जसरी केही ठूला भनिएका राजनीतिक दलहरुले गलत खालको संविधान जारी गरे । त्यो संविधानले विभिन्न खाले समस्या उब्जाएपछि तराई–मधेस मात्र होइन सबै तह र तप्काले आन्दोलन सुरु गरे । मधेस आन्दोलन पछि त्यसैको एक अङ्ग हो । अहिले पनि हामीले हाम्रा माग जारी राखेका छौँ माग पूरा नभएको खण्डमा मधेस आन्दोलन जारी रहन्छ ।