धादिङ एफएममाथि सरकारले गरेको बर्बर आक्रमणको एमालेद्वारा निन्दा

dhading-fm

काठमाडौँ । धादिङ जिल्लामा सञ्चालित रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा राती सुरक्षाकर्मी परिचालन गरी सरकारी तवरबाट भएको आक्रमणप्रति एमालेले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र जिल्लास्थित अधिकारीहरुको पूर्वाग्रह मात्र झल्किएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनी राज्यको समेत खिल्ली उडाइएको छ ।’
सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा देशभर विभिन्न सामाजिक संघ–संस्था, विद्यालय, क्याम्पस, अस्पत्तालका साथै सरकारी कार्यालयहरुसमेत बनेको स्मरण पनि एमालेले गरेको छ । ‘ती कार्यालयहरुका बारेमा के गर्ने र कसरी व्यवस्थित गर्ने भन्ने कुनै नीति नबनाएरै स्थानीय समुदाय, वन उपभोक्ता समूह, राजनीतिक दल र जिल्लास्थित सरकारी कार्यालयहरुकै सहमति र सहयोगमा भूकम्पपछि निर्मित उक्त भवन मध्यरातमा डोजर लगाएर भत्काइनुले थप प्रश्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रेडियोका सामग्रीहरु समेत बाहिर निकाल्न नदिएर त्यहाँ रहेका कर्मचारीलाई आतंकित पारेर प्रहरीबाट घेरा हालेर जुन हर्कत गरिएको छ, यसबाट स्वतन्त्र सञ्चारमाध्यम बन्द गर्ने कुत्सित मनसाय प्रस्ट भएको छ ।’
एमालेले सामुदायिक रेडियो धादिङ एफएम १०६ मेघाहर्ज बन्द गर्ने उद्देश्यका साथ गरिएको आक्रमणको घोर भत्सर्ना गर्दै यथाशीघ्र क्षतिपूर्तिसहित रेडियो सुचारु गर्ने व्यवस्था मिलाउन माग गरेको छ । ‘सञ्चारमाध्यमहरुलाई आतंकित पार्ने यस्ता काममा संलग्न सरकारी अधिकारीहरुमाथि कडा कारबाही गरी फेरि यस्ता गलत क्रियाकलाप नदोहो¥याउने व्यवस्था मिलाउन एमाले जोडदार माग गर्दछ,’ पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।