अमेरिका लगातार दोस्रो जितसहित अन्तिम ३२ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको खेलमा सह–आयोजक अमेरिका अष्ट्रेलियामाथि २–० को सहज जित निकाल्दै अन्तिम ३२ मा प्रवेश गरेको छ।

सिएटल स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अमेरिकाको जितमा एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त हुँदा अर्को गोल एलेक्स फ्रिम्यानले गरे। यस जितसँगै अमेरिकाले समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

खेलको ११औँ मिनेटमा फोलारिन बालोगुनको क्रसलाई अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा प्रहार गरेपछि अमेरिका अग्रता लिन सफल भएको थियो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएर गोलअगाडि पुगेको बललाई एलेक्स फ्रिम्यानले हेडमार्फत जाली चुमाउँदै अमेरिकाको अग्रता दोब्बर बनाए।

मुख्य खेलाडी क्रिस्टियन पुलिसिक पिँडुलाको चोटका कारण मैदानबाहिर रहे पनि प्रशिक्षक माउरिसियो पोचेटिनोको टोलीले आक्रामक र ऊर्जावान प्रदर्शन गर्दै अष्ट्रेलियालाई दबाबमा राखेको थियो।

दोस्रो हाफमा पनि अमेरिकाले केही अवसर सिर्जना गरे तापनि थप गोल हुन सकेन। अष्ट्रेलियाका एलेसान्द्रो सिर्काटीले बालोगुनको सम्भावित गोललाई उत्कृष्ट ब्लक गर्दै टोलीलाई थप क्षतिबाट जोगाएका थिए।

यो जितसँगै अमेरिकाले सन् १९३० को पहिलो विश्वकपपछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्ने उपलब्धि हासिल गरेको छ। साथै टोलीले पछिल्ला १० खेलपछि पहिलो क्लिन सिट समेत दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *