हामी प्रचण्ड सरकारको समर्थनमा गीतमात्र गाएर हिँड्न सक्दैनौँ—सर्वेन्द्रनाथ शुक्ला

sarbendranath-sukla

काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टीले पनि प्रचण्ड सरकारको विरोध सुरु गरेको छ । मधेसका समस्या समाधानका लागि प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्न समर्थन गरेको भन्दै तमलोपाका नेता सर्वेन्दनाथ शुक्लाले माग पूरा नभए सडकमा जाने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, तराई–मधेस केन्द्रित दलले नेकपा माओवादी केन्द्रका अधयक्ष प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्ने बेलामा गरेको चार बुँदे सहमतिको पहिलो बुँदामा नै संविधान संशोधन गर्ने भन्ने उल्लेख छ । तराई–मधेस, आदिवासी–जनजाति, उत्पीडितका मुद्धालाई पन्छाएर जसरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले संविधान जारी गरे । त्यसमा तराई–मधेस, आदिवासी–जनजाति, उत्पीडितले सुरुमै असहमित व्यक्त गरेका हुन् । संविधानप्रति असहमति रहेकै कारण हामीले मधेस आन्दोलन जारी राखेका थियौँ । संविधान जारी गर्दा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । पछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । दुबै सरकारले हाम्रा मागको सम्वोधन गर्न नसकेकाले हामीले मधेस आन्दोलन जारी राखेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई पनि हामीले प्रष्ट रुपमा भनेर नै समर्थन गरेका हौँ । यो कुरा उहाँले बुझ्नु भएको छ भन्ने हामीलाई लागेको छ ।

उहाँले अगाडि भन्नुभयो,निश्चित रुपमा हामीले उहाँहरुसँग हाम्रा मागका बारेमा पकट–पटक कुराकानी गरेका छौँ । त्यही विषयमा छलफल पनि भएको छ । उहाँहरुले हामीलाई हुन्छ, भैरहेको छ, गर्दै छौँ पनि भन्नुभएको छ । उहाँहरुले हामीलाई हुन्छ, भैरहेको छ, गर्दैछौँ मात्रै भन्नुभएको छ । तर, हाम्रा मागका बारेमा उहाँहरु दुबै दल एक ठाउँमा भएको अनुभूति भएको छैन । उहाँहरुले हामीलाई विश्वास दिलाउँने गरी काम अघि बढाउँन सक्नु भएको छैन । उहाँहरुको कामको गति हेर्दा हामीलाई शंका उत्पन्न हुन थालेको छ । सुरु–सुरुमा उहाँहरुले निकै सक्रियता देखाउनु भएको थियो । त्यो अहिले विस्तारै सेलाउँदै गएको छ । यसले सम्झौतामा असर गर्ने निश्चित जस्तै भएको छ ।
जबसम्म कांग्रेस र माओवादी हाम्रा मागका बारेमा एक ठाउँमा आउँने वातावरण निर्माण हुँदैनन । तबसम्म सम्झौता कार्यान्वयन हुने कुरा पनि बलियो बन्दैन । संविधान संशोधन लगायतका मुद्धा पनि उहाँहरु एक ठाउँमा नआईकन समाधान हुँदैनन् । हामीले उहाँहरुको आश्वासन होइन, काम खोजेका छौँ । हामीलाई आश्वासन त पहिला–पहिला पनि आएकै हुन् नि । अब हामी आश्वासनमा होइन काममा मात्र विश्वास गर्छौ । तपाईँहरुका मागमा हामी अन्तिम–अन्तिमतिर पुग्यौँ भन्नुहुन्छ । तर, कुन खालको अन्तिम–अन्तिम हो । हामीलाई नै थाहा छैन । उहाँहरुले हाम्रा मागको सम्वोधन गर्ने गरी प्रक्रिया अघि नबढाएसम्म विश्वस्त हुने कुरा छैन ।
उहाँहरु सुरुसुरुमा निकै सक्रियताका साथ अघि बढ्नु भएको थियो । छलफल पनि भएका थिए । तर, अहिले उहाँहरु हराउनु भएको छ । हाम्रा मागप्रति उहाँहरु विस्तारै टाढाटाढा हुँदै जानु भएको छ । यो राम्रो संकेत होइन । यसले थप समस्या ल्याउने निश्चित छ । त्यसैले उहाँहरुले यो दशैँ, तिहार, छठ अघि नै समस्या समाधान गर्ने गरी लाग्नुपर्छ । भएन भने यसको परिणाम गलत आउनसक्छ । त्यसको सबै जिम्मेवारी उहाँहरुले नै लिनुपर्छ ।

संकट नै त नभनौँ । तर, ढिलासुस्तीले केही समस्या चाहिँ उत्पन्न भएका छन् । हामीले जुन मागसहित उहाँहरुलाई समर्थन गरेको हो । त्यो समर्थन फिर्ता लिएर हामी फेरि सडकमा नै जानु पर्ने अवस्था पनि आउन सक्छ । हामी त्यो अवस्थामा पुग्नु नपरोस् भन्नेमा छौँ । उहाँहरुले जबरजस्ती सडकै जाने बाध्यता सिर्जना गर्नुभयो भने त हामी कसरी उहाँहरुलाई नै समर्थन गरेर बस्न सक्छौँ र ? अहिले दशैँ, तिहार, छठ जस्ता पर्वहरुले हामीलाई छपक्क छोपेको छ । यो बेला हामी आन्दोलनमै जानुपर्छ भन्नेमा छैनौँ । त्यही भएर पनि छठसम्म हामी सरकारलाई कुर्छौ । उहाँहरुले पनि देशको दीर्घकालिन समस्या समाधानका लागि सकारात्मक कदम चाल्न सक्नुहोस । यदि होइन भने त हामी आन्दोलनमा जानुको अर्को विकल्प हुँदैन । त्यतिबेला उहाँहरु पनि कहाँ पुग्नुहुन्छ । समयले नै बताउँछ । हामी समर्थनको मात्र गीत गाएर हिड्न सक्दैनौँ । हामीले समस्या समाधानको कुरा उठाउँदै आएका छौँ । हामीले रहरले आन्दोलन गरेको होइन । आन्दोलन गर्दा रमाईलो भएर पनि आन्दोलन गरेको होइन । हामीले आन्दोलन गरेको र अहिले सरकारलाई समर्थन गरेको समस्या समाधानका लागि हो । यो कुराको ख्याल उहाँहरुलाई होस भन्न मात्र हामीले खोजेका हौँ । उहाँहरु समस्या समाधानमा लाग्नु भएन भने त समर्थन स्वतः फिर्ता हुन्छ ।

असोज १८ गते ।