साप्सु खोलाका ढुङ्गामा कला भर्दै देशैभरका मूर्तिकार: मझुवागढी सजाउन खोटाङमा महाकुम्भ
खोटाङ, २० असार । खोटाङको प्रसिद्ध साप्सु खोलाबाट संकलन गरिएका निर्जीव ढुङ्गाहरू यतिबेला मूर्तिकारका छिनो र मार्तलको प्रहारसँगै जीवन्त कलामा रूपान्तरण भइरहेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकास्थित शुभम् फाउण्डेशनमा जारी ‘मूर्तिकला कार्यशाला’ ले देशका प्रख्यात मूर्तिकारहरूलाई एकै ठाउँमा जुटाएको छ।
असार १२ गतेदेखि सुरु भएको यस कार्यशालामा मूर्तिकारहरू साप्सु खोलाका ढुङ्गामा किराती संस्कृतिदेखि धार्मिक र प्राकृतिक पहिचानका आकृतिहरू कोर्न तल्लीन छन्।
धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिबेला एउटै ढुङ्गामा किराती समुदायको मुहार उतार्न व्यस्त छन्। १२ वर्षदेखि मूर्तिकारितामा लागेका राईले ढुङ्गामा चिन्डो (बाबु), ढोल, झ्याम्टा, धनुकाँण र तीन चुलोको प्रतीक बुन्छन जस्ता मौलिक आकृतिहरू तयार पारिरहेका छन्। उनै राई हुन् जसले खोटाङको बुइपामा ११० फिट अग्लो यलम्बरको मूर्ति ठड्याउन मुख्य भूमिका खेलेका थिए।
त्यस्तै, नवलपरासीका मूर्तिकार विके नरबहादुर २५ वर्षको अनुभव साप्सु खोलाका ढुङ्गामा खन्याइरहेका छन्। उनले यसपटक माता कालीको साङ्केतिक मुहारलाई ढुङ्गामा कुँदिरहेका छन्। यसअघि बर्दघाटमा १२ फिट अग्लो बुद्ध र स्याङ्जामा भालुको मूर्ति बनाएर चर्चा कमाएका नरबहादुर भन्छन्, “इमानदार भएर काम गर्ने हो भने मूर्तिकारिताबाटै स्वरोजगार बन्न कुनै समस्या छैन।”
काठमाडौँकी शुक्ष्मा श्रेष्ठ भने दिक्तेलमा गणेशको मूर्ति बनाउन व्यस्त छिन्। विगत ३० वर्षदेखि यस क्षेत्रमा सक्रिय उनले कीर्तिपुरपछि दिक्तेलमा चौथो पटक गणेशको मूर्ति बनाउन लागेको अनुभव सुनाइन्।
कार्यशालामा ५ वटा प्रदेश र १२ जिल्लाका ख्यातिप्राप्त कलाकारका साथै एक जना भारतीय कलाकारको समेत सहभागिता छ। कलाकारहरूलाई रूपन्देहीका आयुष सुनार र स्याङ्जाका विदुर पौडेलले प्राविधिक सहयोग गरिरहेका छन्।
विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका निर्देशक नकुल सिंहका अनुसार कार्यशालामा गौतम बुद्ध, जट्टाधारी शिव, किरात संस्कारका सामग्रीहरू र लोपोन्मुख रेडपाण्डाका कलात्मक मूर्तिहरू निर्माण भइरहेका छन्।
कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित यस कार्यशालाको मुख्य उद्देश्य धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीको प्रवर्द्धन गर्नु हो। यहाँ तयार पारिएका सबै मूर्तिहरूलाई मझुवागढीमा लगेर सजाइनेछ।
दिक्तेल बजारको हाटडाँडाबाट करिब ४५ मिनेटको पैदल दूरीमा रहेको मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले ठूलो लगानी गरिरहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भौतिक पूर्वाधारसँगै कला र साहित्यलाई पनि प्राथमिकतामा राखेको छ। यसअघि पालिकाले रेडपाण्डा उत्सव, राष्ट्रिय बाँस सम्मेलन र मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ। अहिलेको मूर्तिकला कार्यशालाले मझुवागढीको ऐतिहासिक र सांस्कृतिक गरिमालाई विश्वस्तरमा पुर्याउने विश्वास लिइएको छ।