चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका आमा र ४ वर्षीय छोराको मृत्यु
चितवन, २१ असार । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आमा र उनका ४ वर्षीय छोराको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटे रहेका छन्।
राति घरमा सुतिरहेको अवस्थामा अचानक आएको हात्तीले उनीहरूलाई आक्रमण गरेको थियो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आशिकाका श्रीमान् पूर्ण बोटेले हात्तीलाई धपाउनका लागि आगो बाल्ने प्रयास गरेका थिए। सोही क्रममा उनीहरूको फुसको कच्ची घरमा अचानक आगलागी भएको थियो। आगलागी भएपछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा पछिल्लो समय जंगली जनावरको आक्रमण बढ्दै जाँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्। घटनापछि निकुञ्ज प्रशासन र सुरक्षा निकायले सो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।
