नेपाल,भारत र चीनबीच त्रिदेशीय साझेदारीमा सहमति भएको प्रचण्डको हल्लाको खेती एक दिन पनि टिकेन, भारतव्दारा खण्डन, प्रचण्डको अर्को ठूलो कूटनीतिक असफलता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीमा सहमति भएको भनी चलाएको हल्लाको खेती एक दिन पनि टिकेन । सो हल्ला झूठो भएको भन्दै भारतले खण्डन गरेको छ । प्रचण्डको यो अर्को ठूलो कूटनीतिक असफलता हो । भारतले शनिबार साँझ नेपाल, भारत र चीनका कार्यकारी प्रमुखहरूबीच भएको भेटवार्तामा त्रिपक्षीय साझेदारीलाई लिएर सहमति नभएको स्पष्ट गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल बसिरहेको ‘वेटिङ रुम’ मा पहिले चिनियाँ राष्ट्रपति सी जिनपिङ र केहीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेपछि तीन नेताबीच अनौपचारिक कुराकानी भएको थियो ।
भारतीय विदेश मन्त्रालयद्वार आयोजित पत्रकार सम्मेलनमा विदेश प्रवक्ता विकास स्वरूपले उक्त भेटबारे आफूले प्रधानमन्त्री मोदीसँग जिज्ञासा राखेको बताउनुभयो । उहाँले मोदीलाई उद्धृत गर्दै भन्नुभयो, ‘त्यो संयोगवश भएको मात्रै हो । एकै समयमा तीनै नेता लिडर्स लाउन्जमा उपस्थित थिए । नेपाल र चीनको द्विपक्षीय वार्ता पहिल्यै सकिइसकेको थियो । मलाई थाहा छैन, मानिसहरूले कुन आधारमा यसलाई त्रिपक्षीय वा अरू केही वार्ता भनिरहेका छन् ।’
नेपाल र चीनले अघि सार्दै आएको त्रिपक्षीय साझेदारी प्रस्तावलाई भारतले हालसम्म स्वीकारेको छैन । शनिबारको त्रिपक्षीय भेटमा त्यस्तो साझेदारीका लागि सहमति भएको चर्चा चलेपछि भारतले फरक प्रतिक्रिया दिएको हो । प्रधानमन्त्री दाहालको आधिकारिक वेबसाइटमा त्रिपक्षीय वार्ता भएको र तीन देशबीच त्रिदेशीय साझेदारीका विषयमा सहमतिसमेत भएको उल्लेख थियो । भारतीय विदेश प्रवक्ताले त्यो भेट कसरी भयो भन्ने पनि सुनाउनुभयो । उहाँका अनुसार दाहाल सीसँग द्विपक्षीय औपचारिक वार्ता गरेपछि आफू बसेको होटल लीलातर्फ फर्कन लाग्दै थिए । त्यसै बेला ब्राजिलका राष्ट्रपतिको ‘कारकेड’ चलेकाले ‘वेटिङ लाउन्ज’मा रोकिएका बेला सीसँग उहाँको भेट भएको र पछि त्यहीँ मोदी पनि सरिक भएको स्वरूपले बताउनुभयो ।
‘ब्रिक्स’ नेताहरूको अनौपचारिक रात्रिभोज सुरु हुन आधा घण्टा बाँकी रहेको फुर्सदको समयमा सी दाहाल रहेको कक्षमा छिर्नुभएको थियो । त्यहाँ उहाँहरूबीच करिब २० मिनेट कुराकानी भएपछि मोदी पनि अकस्मात त्यहाँ पुग्नुभएको थियो । त्यसपछि तीन नेताबीच संयुक्त रूपमै कुराकानी चलेको थियो । त्यो अप्रत्याशित भेट सकेर दाहाल होटलतर्फ फर्कनुभयो भने सी र मोदी ब्रिक्सको अनौपचारिक रात्रिभोजमा सहभागी हुनुभयो ।