गुराँसको लालित्यले सजिएको ‘मुन्दुम ट्रेल’: प्रकृति र संस्कृतिको अनुपम सङ्गम
काठमाडौँ, वैशाख २० । नेपाल सरकारले पहिचान गरेका १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो – ‘मुन्दुम ट्रेल’। यतिबेला यो पदमार्ग केवल बाटो मात्र रहेन, एउटा विशाल र रङ्गीन बगैँचामा परिणत भएको छ। वसन्त ऋतुको आगमनसँगै यहाँका वन-पाखाहरू थरिथरिका गुराँसले राताम्मे भएका छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाइरहेको छ ।
खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्ग आसपास यतिबेला रातो, सेतो र गुलाबी रङका गुराँसका प्रजातिहरू ढकमक्क फुलेका छन् । हरिया घाँसे मैदान र ती मैदानको बिच बिचमा फुलेका लालीगुराँस, चिमाल र चाँपको दृश्यले जो कोहीको मन लोभ्याउँछ ।
सामाजिक सञ्जालमा ‘मुन्दुम’को चर्चा
हालै मुन्दुम ट्रेलको पदयात्रा पूरा गरेका ‘हिँड्ने मान्छे’ उपनामले परिचित ओजनबाबु आचार्य र उनको टोलीले खिचेका तस्बिरहरूले अहिले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा निकै चर्चा पाएका छन् । आचार्य भन्नुहुन्छ, “मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार हो । अन्यत्र पहाडका भिरपाखामा गुराँस फुल्छन्, तर यहाँका विशाल घाँसे मैदानमै ढकमक्क गुराँस भेटिन्छन् । यो दृश्य हेर्दा स्वर्गीय आनन्दको अनुभूति हुन्छ।”
आचार्यको टोलीमा सहभागी लालबहादुर मगर (एलबी), सञ्जीव राई र सञ्जित राईका अनुसार यो पदमार्गमा प्रकृतिसँग मात्र होइन, लेकाली जीवनशैलीसँग पनि साक्षत्कार गर्न पाइन्छ । चौँरीको ताजा दूध तताएर खाने, घोडा चढ्ने र गोठहरूमा बास बस्ने अनुभवले यात्रालाई थप अविस्मरणीय बनाएको उनीहरूको अनुभव छ ।
जैविक विविधता र १८ प्रजातिका गुराँस
अनुसन्धानकर्ताहरूका अनुसार मुन्दुम ट्रेल आसपासका मैयुङका फाँटहरूमा मात्रै १८ प्रजातिका गुराँस पहिचान भएका छन्। गुराँससँगै यहाँका जङ्गलमा चाँप, कटुस, लोक्ता र बहुमूल्य जडीबुटीहरू पाइन्छन्। मैयुङको हाँसपोखरी क्षेत्रमा रेडपाण्डा, थार, भिरमौरी र विभिन्न दुर्लभ चराचुरुङ्गीहरूको वासस्थान रहेकाले यो क्षेत्र जैविक विविधताका दृष्टिले पनि निकै धनी छ ।
मुन्दुम: किराती सभ्यताको गौरव
पूर्वी पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा फैलिएको यो पदमार्ग किराती समुदायको ऐतिहासिकता र मुन्दुम (मुलुकको मौखिक ग्रन्थ) सँग जोडिएको छ । ३,१६५ मिटर उचाइको टेम्केडाँडाबाट सुरु भई मैयुङ, ३,७५० मिटरको साल्पापोखरी र ४,१६५ मिटरको सिलिचुङसम्म पुगेर यो पदमार्ग टुङ्गिन्छ । पहाडका चुचुराहरूमा निर्माण गरिएको यो ट्रेल पूरा गर्न विदेशी पर्यटकलाई १३ दिन र नेपालीलाई करिब १० दिन लाग्ने गर्छ ।
मैयुङ-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष रमेश राईका अनुसार, यस क्षेत्रमा पाइने फराकिला चौँरीखर्क, भेडीगोठ र किरात संस्कृति नै यहाँका मुख्य आकर्षण हुन् ।
गोठवास : स्थानीय आतिथ्यको नयाँ नमुना
मानव बस्तीभन्दा टाढा रहेका यी उच्च हिमाली क्षेत्रमा पर्यटकको सुविधाका लागि स्थानीय गोठहरूलाई नै ‘गोठवास’का रूपमा विकसित गरिएको छ । पदयात्रीहरूले यहाँ स्थानीय उत्पादन जस्तै – कोदो, फापर र गहुँको ढिँडो, रायोको साग, आलु, सिमी र लोकल कुखुराको स्वाद लिन पाउँछन् । गोठवालाहरूले परम्परागत गोठलाई स्तरोन्नति गरी पर्यटकलाई खाने र बस्ने व्यवस्था मिलाएका छन्, जसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याएको छ ।
अग्ला हिमालको काखमा बसेर गुराँसको सुगन्ध लिँदै गरिने मुन्दुम ट्रेलको यात्रा यतिबेला साहसिक पदयात्री र प्रकृतिप्रेमीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनेको छ ।