हर्मुज जलघाँटीमा इरानले बढायो सुरक्षा निगरानी, अनुमतिविना जहाज आवतजावतमा रोक

एजेन्सी, २० बैशाख । विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा इरानले सुरक्षा निगरानी कडा पारेको छ। इरानी सेनाले उक्त जलमार्ग हुँदै आवतजावत गर्ने सबै पानीजहाजले अब अनिवार्य रूपमा इरानी निकायको अनुमति लिनुपर्ने जनाएको छ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै हर्मुज जलघाँटीको व्यवस्थापन र सुरक्षा इरानको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारेका छन्। वर्तमान क्षेत्रीय परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै उनले भने, “यस महत्त्वपूर्ण समुद्री मार्गबाट हुने जहाजहरूको आवागमन अब इरानी निकायहरूको समन्वय र पूर्वस्वीकृतिमा मात्र सम्भव हुनेछ।”

प्रवक्ता अक्रमिनियाका अनुसार उक्त जलक्षेत्रमा अहिले इरानको राष्ट्रिय सेना र ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)’ ले संयुक्त रूपमा सुरक्षा निगरानी र व्यवस्थापन गरिरहेका छन्।

यसैबीच, इरानको फार्स समाचार एजेन्सीले उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै विभिन्न देशहरूले आफ्ना जहाजको सुरक्षित आवागमनका लागि कूटनीतिक माध्यमबाट इरानसँग अनुरोध गरिरहेको जनाएको छ।

मध्यपूर्वमा विकास भइरहेका पछिल्ला क्षेत्रीय घटनाक्रम र बढ्दो तनावका बीच इरानले गत फेब्रुअरी २८ देखि नै उक्त क्षेत्रमा ‘विशेष परिस्थिति’ उत्पन्न भएको भन्दै सुरक्षा सतर्कता बढाएको थियो।

हर्मुज जलघाँटी अन्तर्राष्ट्रिय व्यापार र विशेषगरी विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने अत्यन्तै संवेदनशील जलमार्ग हो। यस जलमार्गमा इरानले चालेको पछिल्लो कदम र बढ्दो सैन्य गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ नियालिरहेको छ ।