ट्रम्पको जितपछि अमेरिकामा बढेको सन्त्रास
—विवेक श्रेष्ठ

डोनाल्ड ट्रम्प विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाको ४५ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । अमेरिकामा चुनावी अभियानदेखि मतदान सम्पन्न भई मतगणनाको मध्यमागसम्म पनि हिलारी क्लिन्टनको पक्षमा देखिएको विश्व जनमतलाई पछार्दै उहाँले अत्यधिक बहुमतका साथ चुनाव जित्नुभयो । ट्रम्पले आफूले मात्र चुनाव जित्नु भएन ,आफुले चुनाव लडेको रिपब्लिकन पार्टीलाई पनि संसद्को दुवै सदन (हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेट) मा बहुमतले जिताउनुभयो । अब उहाँले आउँदो सन् २०१७ को जनबरी २० देखि निर्वाधरुपमा चार वर्षसम्म अमेरिकी सत्ताको बागडोर सम्हाल्नु हुनेछ ।
अघिल्लो साताको मङ्गलबार (नोभेम्बर ८ तारिख) मा अमेरिकामा ४५ औँ राष्ट्रपतिका लागि चुनाव भयो । चुनावमा सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट क्लिन्टन र प्रमुख प्रतिपक्षी रिपब्लिकन पार्टीकातर्फबाट ट्रम्प मुख्य रुपमा चुनावी मैदानमा हुनुहुन्थ्यो । दुबै उम्मेदवारले चुनाव प्रचारका अन्तिम र्याली तथा सभालाई सम्बोधन गर्दासम्म एकअर्काविरुद्ध कडारुपमा प्रस्तुत हुनुभयो । दुवै उम्मेदवारले एकअर्काविरुद्ध चर्को आलोचना र घोचपेच गर्दै वाकयुद्ध गर्नुभयो तर चुनावी परिणाम आउनेवित्तिकै दुवै जनाले एकअर्काप्रति आदरभाव प्रकट गर्दै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लिन्टनले सहजै हार स्वीकार गर्दै ट्रम्पलाई बधाई दिनुभयो । यो नै अमेरिकी प्रजातन्त्रको मूल विशेषता हो । यद्यपि लाखौँ अमेरिकीहरुले ट्रम्पको जितलाई सहजरुपमा स्वीकार्न नसकी विरोध प्रदर्शनसमेत गरेका छन् ।
तीन दशकभन्दा लामो राजनीतिक र कूटनीतिक अनुभवले खारिएकी महिला नेत्री क्लिन्टन अमेरिकाको इतिहासमै पहिलो महिला राष्ट्रपति उम्मेदवार बन्नुभएको र उहाँले अगाडि सार्नुभएका चुनावी नाराका कारण यस पटकको चुनावी माहोल उहाँको पक्षमा थियो । सत्तारुढ दलको उम्मेदवार भएका कारण राष्ट्रपति बाराक ओबामालेसमेत उहाँकै पक्षमा चुनावी भाषण गर्नुभयो । अश्वेत, मुस्लिम, अल्पसङ्ख्यक,आप्रवासी,शरणार्थीदेखि अधिकांश सञ्चार माध्यम, मतसर्वेक्षणहरु, सत्तारुढ डेमोक्रेटिक पार्टीदेखि प्रमुख प्रतिपक्षी दल रिपब्लिकन पार्टीकै बरिष्ठ नेताहरुसमेत क्लिन्टनको पक्षमा उभिएका थिए । अत्यधिक मतले क्लिन्टनले जित्ने अनुमान धेरैको थियो तर परिणाम ठीक विपरीत आयो । जसले गर्दा उहाँ चुनाव जितेर पहिलो महिला राष्ट्रपतिको इतिहास बनाउने अवसरबाट बञ्चित हुनुभयो ।
अर्कोतर्फ ब्यापारिक पृष्ठभूमिबाट एक वर्षअघिमात्र राजनीतिमा आउनुभएका टम्पले कठोर र आक्रामक अभिव्यक्ति दिएर सुरुदेखि नै चर्चा र विवाद परे पनि नाटकीय ढङ्गले चुनाव जित्नुभयो । उहाँले चुनाव जितेर अमेरिकाको राजनीतिमा मात्र होइन विश्वराजनीतिमै नयाँ हलचल ल्याउनुभयो ।
यस पटक क्लिन्टनले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा,मेडिकेयर,जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी बृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई क्रृणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाउनुभयो । उहाँले आफूले चुनाव जितेको खण्डमा अमेरिकी जनताको सुरक्षाका लागि अहिले मुख्य चुनौती बनेको बन्दुक आतङ्क अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । तर बहुसङ्ख्यक श्वेत अमेरिकीहरुले उहाँलाई मत दिएनन् फलस्वरुप चुनाव हार्नुभयो ।
उता ट्रम्पले भने अमेरिकालाई फेरि महान् र शक्तिशाली बनाउने,आप्रवासी समस्या समाधान गर्ने, रोजगारी बृद्धि , स्वतन्त्र, सुरक्षित र मजबुत अमेरिका बनाउने भन्दै आप्रवासी,शरणार्थी र मुसलमानबाट अमेरिका असुरक्षित भएकाले आगमन रोक्न सीमा क्षेत्रमा अग्लो पर्खाल बनाउनुपर्नेजस्ता विवादास्पद अभिव्यक्ति दिनुभयो । उहाँको पक्षमा न अमेरिकाको बहुसङ्ख्यक सञ्चार माध्यम लागे र आफ्नै पार्टीका नेताहरु । पार्टीका पूर्व राष्ट्रपतिहरु तथा अन्य प्रभावशाली नेताहरुले उहाँको चुनाव प्रचारप्रसारमा सहयोग गरेनन् । प्रमुख चुनाव प्रचारक पाउल मानाफोर्टले राजीनामा दिएपछि त उहाँ थप अप्ठेरोमा पर्नुभयो । तर हिम्मत हार्नु भएन । उहाँ त एक हिसाबले पार्टीको विद्रोही उम्मेदवार जस्तो देखिनुभएको थियो । तर बहुसङ्ख्यक श्वेत अमेरिकीहरुले उहाँको चुनावी नारा मन पराएर एकमुष्टरुपमा मतदान गरे र अत्यधिक मतले विजयी बनाए । ट्रम्पको यो जितले अमेरिकामा अनुदारवाद हावी हुने सङ्केत मात्रै गरेन,महिलाप्रति अमेरिकी समाजमा लैङ्गिक विभेदको खाडल गहिरो छ भन्ने कुरा प्रष्ट पारेको छ ।
चुनावी घटनाक्रम जेजस्तो भए पनि ट्रम्पको जितसँगै अमेरिकी राजनीतिले नयाँ मोड लिएको छ । चुनाव जितेलगत्तै उहाँले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नो ऐतिहासिक जित सबै अमेरिकीहरुको जित भएको र सबैको राष्ट्रपति बन्ने उद्घोष गर्नुभयो । उहाँले अमेरिकाको सर्वोत्तम हितमा काम गर्ने र अन्य शत्रुहरुसँग पनि मित्रवत् व्यवहार गर्ने भन्दै चुनावमा विभाजित अमेरिकीहरुलाई अब एकजुट हुनुपर्ने,रिपब्लिकन र डेमोक्रेटिक पार्टी मिलेर काम गर्नुपर्ने भन्दै मेलमिलापका लागि आह्वानसमेत गर्नुभयो । चुनावताका आक्रामक र कठोर बन्नु भएका ट्रम्प चुनाव जितेर एकाएक अत्यन्तै नरम र उदार ढङ्गले प्रस्तुत हुनुभएकोमा अहिले नयाँ आशा सञ्चार भएको छ ।
ट्रम्पले राष्ट्रपतिको तलव नलिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको वार्षिक तलव ४० लाख डलर हुने गर्छ । उहाँले रुस तथा चीनसितको सम्बन्धलाई बलियो बनाउने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नुभएको छ । ट्रम्पले मध्यपूर्वको गम्भीर समस्याका रुपमा रहेको इजरायल—प्यालेस्टाइन विवाद टुङ्ग्याउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उता,वर्तमान राष्ट्रपति ओबामाले लगातार दुई कार्यकाल यसै वर्ष समाप्त हुँदै छ । उहाँ डेमोक्रेटिक पार्टीकातर्फबाट चुनाव जितेर पहिलो अश्वेत राष्ट्रपति बनी नयाँ इतिहास रच्नुभयो । लगातार दुई कार्यकाल पूरा गरेपछि राष्ट्रपति चुनाव लड्न नपाइने अमेरिकाको संवैधानिक व्यवस्था अनुसार यस पटक राष्ट्रपति ओबामा चुनावी दौडमा सहभागी हुनुभएन ।
अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ । त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।
लामो समयसम्म बेलायतको उपनिवेशमा रहेको अमेरिका सन् १७७६ मा स्वतन्त्र भएको हो । सन् १७८७ मा संविधान जारी भई सन् १७८९ मा जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित हुनुभयो । त्यसपछि त्यहाँ अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे । आन्दोलनले गृहयुद्धको रुप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलनको घोषणा गरियो ।
संविधानमा दास प्रथाको उन्मूलनको घोषणा गरे पनि व्यवहारमा लागू नभएपछि लामो समयसम्म जारी रङ्गभेदविरोधी आन्दोलन सन् १९६५मा चरमोत्कर्षमा पुग्यो । आन्दोलनको नेतृत्व गर्नुभएका अश्वेत नेता मार्टिन लुथर किङको १९६८मा हत्याले त झन् आगोमा घिउ थप्ने काम गर्यो । आफ्ना लोकप्रिय नेताको हत्याले आक्रोशित काला जातिको रङ्गभेदविरोधी आन्दोलन अरु चर्किन नदिन गोरा अमेरिकी नागरिकसरहका सबैखाले अधिकार दिने सरकारको प्रतिवद्धता अनुसार काला जातिका मानिसहरु प्रशासन तथा सैनिक सेवामा प्रवेश पाए । समान अवसर पाएकै कारण काला जातिबाट ओबामा सर्वोच्च पदमा पुग्न सफल हुनुभयो ।
विशेषत ः उदारवादी मानिने डेमोक्रेटिक पार्टीका तर्फबाट ओबामोको दुई कार्यकाल उदारवादतर्फ उन्मुख भयो । उहाँको उदारवाद र सुधारवादलाई अश्वेत,मुस्लिम, मध्यम वर्ग, आप्रवासी,शरणार्थीले मन पराए पनि बहुसङ्ख्यक श्वेत अमेरिकीहरुले मन पराएनन् जसले गर्दा लामो राजनीतिक र कूटनीतिक अनुभव संगाल्नुभएकी क्लिन्टन लोकप्रिय हुँदाहुँदै पनि चुनाव हार्नुभयो । अनुदारवादी मानिने रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका खर्बपति ट्रम्पको नीतिलाई अश्वेत, मुस्लिम,मध्यमवर्ग, आप्रवासी,शरणार्थीले मन नपराए पनि बहुसङ्ख्यक श्वेत अमेरिकीहरुले मन पराएकै कारण चरम प्रतिकूल अवस्थामा पनि उहाँले चुनाव जिती नयाँ इतिहास रच्नुभयो । अब ट्रम्पका सामु सबैको भावना समेटेर विश्वशान्ति र मेलमिलापका लागि मिलेर काम गर्नुपर्ने चुनौती छ । उहाँको जितबाट अत्तालिएका र असुरक्षित महसुस गरेका अश्वेत, मुस्लिम,आप्रवासी, शरणार्थी र मध्यमवर्गलाई पनि विश्वासमा लिएर उनीहरुको हित संरक्षण गर्न सक्नुभयो भने वास्तवमा चुनाव जितेपछिको पहिलो सम्बोधनमा ‘म सबैको राष्ट्रपति बन्छु’ भनी व्यक्त प्रतिबद्धताले पूर्णता पाउने छ ।