नेपालका कम्युनिष्टरूमा बामपन्थीको ‘ब’ पनि छैन : राजेन्द्र श्रेष्ठ

काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालको काठमाडौँ महानगरको डल्लुमा आयोजित एक भेलाले सुमन महर्जनको अध्यक्षतामा वडा तदर्थ समिति पुनर्गठन गरी १३ सदस्यीय समिति घोषणा गरेको छ । पार्टीका जिल्ला सदस्य जीवी रत्नको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालका कम्युनिष्टहरूमा वामपन्थीको ‘ब’ पनि नरहेकोे बताउँदै उहाँले तिनीहरू माक्र्सवादी नश्लवादी भएकाले परिवर्तनकारी शक्ति हुन नसकेको दावी गर्नुभयो । उहाँले आफूहरूले नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि बहुराष्ट्रियतामा आधारित सङ्घीय शासन, पहिचानयुक्त प्रदेशहरूको निर्माण, समानुपातिक समावेशीकरण, सरकारी कामकाजमा वहुभाषिक नीति, मातृभाषामा शिक्षा, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, जातीय रूपमा समानुपातिक प्रतिनिधित्व भएको राष्ट्रिय सभा आदि विषयमा संविधान संशोधन हुनुपर्ने कुरा अगाडि सारेको बताउनुभयो । नेपाल जस्तो बहुराष्ट्रिय देशमा जातीय मुक्तिका लागि सङ्घवादलाई पनि समाजवादसँगसँगै अंगाल्नुपर्ने कुरामा जोड दिँदै नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरूले समाजवादका नाममा एकल जातीय राज्यसत्तालाई निरन्तरता दिन चाहेको कुराको कटाक्ष गर्नुभयो । उहाँले युरोपका एकल जातीय राष्ट्र–राज्यमा विकसित समाजवादको नक्कल गरेकाले उनीहरू असफल भएको कुरा पनि स्पष्ट गर्नुभयो ।
अहिलेको नागरिकतासम्बन्धी विवादका सम्बन्धमा उहाँले आफूहरूले वर्तमान संविधान जारी हुनु पूर्वसम्म अन्तरिम संविधान र प्रचलित कानुनको व्यवस्थालाई नै संविधानमा राख्न माग गरेको वताउँदै यो माग गर्नु राष्ट्रघात भए पहिलाको संविधान बनाउने एमाले, काङ्ग्रेस र माओवादी नै भएकाले तिनीहरू नै राष्ट्रघाती भएको बताउनुभयो । नेता श्रेष्ठका अनुसार नेपाली चेलीको नेपालमै बसोवास गर्ने विदेशी नागरिकसँग विवाह भएको छ भने पनि ज्वाँइले नभई नेपालमा जन्मेका उनको सन्तानले त्यो पनि विदेशमा नागरिकता नलिएको भएमा मात्र नेपालमा नागरिकता पाउने व्यवस्था भएकाले लौ अव ज्वाँईहरूलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्तो कार्यकारी पदमा ल्याउन गठबन्धन र मोर्चाले माग राख्यो भन्ने कुरा शत प्रतिशत झुठो हो । यी पदहरू जनता वा जन प्रतिनिधिहरूको मतले निर्वाचित भएर आउने सर्वोच्च पदहरू भएकाले यस्ता पदहरूमा तिनीहरूले स्थान पाउन नसक्ने कुरा बताउनुभयो ।
पार्टी जिल्ला समिति सदस्य अर्जुन श्रेष्ठले स्वागत र मंगलरत्न ताम्राकारले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा नेवाः प्रदेश इञ्चार्ज कृष्ण वहादुर घःजु, केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज सानुराजा शाक्य, पार्टीका केन्द्रिीय परिषद सदस्य आशा राई, ताम्सालिङ प्रदेश समितिका उपाध्यक्ष आशमान तामाङ, काठमाडौँ जिल्ला समिति अध्यक्ष मनरत्न शाक्य लगायतका नेताहरूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । ।