विश्वकप लिग–२: यूएईविरुद्ध उपकप्तान दीपेन्द्रको अर्धशतक, संकटमा नेपाललाई राहत
काठमाडौँ, १२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। टोली दबाबमा रहेको अवस्थामा जिम्मेवारीपूर्ण ब्याटिङ गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा दीपेन्द्रको यो छैटौँ अर्धशतक हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुआती ब्याटरहरूलाई सस्तैमा गुमाएको थियो। ताजा अवस्थामा नेपालले ३४.१ ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको छ।
सुरुआतमै धरमराएको नेपाली इनिङ्सलाई दीपेन्द्रले एकातर्फबाट सम्हाल्दै अगाडि बढाइरहेका छन्। घरेलु मैदानमा समर्थकहरूको बाक्लो उपस्थितिका बीच नेपालले यूएईसामु सम्मानजनक लक्ष्य प्रस्तुत गर्ने लक्ष्यका साथ ब्याटिङ गरिरहेको छ।