विश्वकप लिग–२: यूएईविरुद्ध नेपालको सानदार जित, करणको घातक बलिङ र दीपेन्द्रको अर्धशतक

काठमाडौँ, १२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ३७ रनको रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमा अलआउट भयो ।

नेपालको जितमा तीव्र गतिका बलर करण केसी नायक बने । उनले ९.२ ओभरमा २ मेडनसहित मात्र १९ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए । त्यस्तै, लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर २ विकेट झारे । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट लिएर यूएईको पारी ध्वस्त पारे ।

यूएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० र निलान्स केसवानी तथा आर्यान्स शर्माले समान १८–१८ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रनको योगफल तयार पारेको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले संकटमोचकको भूमिका निभाउँदै ७६ रनको अर्धशतकीय पारी खेले । ९० बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

अन्य ब्याटरहरूमा कुशल भुर्तेलले २४, करण केसीले २२ तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रनको योगदान दिए । भीम सार्की १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
यूएईका तर्फबाट जुनैद सिद्धिकी र अजय कुमारले ३–३ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट हात पारे ।

यूएईमाथि जित निकाल्दै महत्त्वपूर्ण अंक बटुलेको नेपालले अब आफ्नो अर्को खेलमा बुधबार ओमानको सामना गर्नेछ ।