कांग्रेसका मधेसी सांसद्ले भने– ‘संशोधन प्रस्ताव स्वागतयोग्य’

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको संविधान संशोन प्रस्तावलाई नेपाली कांग्रेसका मधेसी सांसद्ले स्वागत गरेका छन् । उनीहरुले संशोधन प्रस्ताव अग्रगामी भएको भन्दै स्वागत गरेका हुन् । २७ जना सांसद्ले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उनीहरुले भनेका छन्– ‘संशोधन प्रस्ताव स्वागतयोग्य छ । यसको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्नु भनेको निर्वाचन हुन नदिनु र देशलाई थप समस्यामा लैजानु हो ।’ त्यसैगरी विज्ञप्तिमा एमालेले राष्ट्रघाती भनी दिएको प्रतिक्रियालाई पनि ती सांसदले विरोध गरेका छन् । उनीहरुले आधा जनसंख्या बसोबास गर्ने मधेसको मागलाई उपेक्षा गर्न नसकिने भन्दै संविधान कार्यान्वयनका लागि पनि संशोधन प्रस्ताव स्वागतयोग्य भएको दाबी गरेका छन् । ‘संविधान मेरो पनि हो भन्ने अनुभूति मधेसी जनताले गर्न पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमालेले राष्ट्रघातीको संज्ञा दिनु आपत्तिजनक छ ।’