आठ वर्षको अन्धकारपछि प्रियंकाले देखिन् उज्यालो संसार : कर्णालीको विकटता चिर्दै फर्किएको दृष्टि

काठमाडौँ, बैशाख १९ । ११ वर्षीया प्रियंका विकका लागि गएको आठ वर्ष एउटा लामो र सुनसान रातजस्तै थियो । तीन वर्षकै कलिलो उमेरमा आँखामा लागेको चोट (ट्रमा) ले उनको दाहिने आँखाको ज्योति खोसेको थियो। उमेर बढ्दै गयो, तर उनको संसार आधा अँध्यारोमै सीमित रह्यो। अन्य बालबालिका स्कुल जाँदा र खेलकुदमा रमाउँदा प्रियंका भने अरूको सहारा खोज्न बाध्य थिइन् ।

तर, यो वैशाख प्रियंकाका लागि नयाँ बिहानी लिएर आयो। आठ वर्षपछि पुनः उज्यालो देख्न पाउँदा उनको अनुहारमा जुन चमक देखियो, त्यसले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मन मात्र छोएन, कर्णालीको स्वास्थ्य सेवाको यथार्थलाई पनि उजागर गरिदियो ।

विपन्नता र अभावको पहाड
कालिकोटकी प्रियंकाको परिवारका लागि उपचार पाउनु सपनाजस्तै थियो। बुबा रोजगारीका लागि मुग्लान (भारत) पसेका थिए । घरको आर्थिक अवस्था नाजुक थियो भने नजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध थिएन। भौगोलिक विकटता र आर्थिक अभावकै कारण प्रियंकाले वर्षौँसम्म अन्धकारमा बाँच्नुपर्‍यो। आँखाको ज्योति फर्किने आशा झिनो बन्दै गएका बेला जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सञ्चालन भएको निःशुल्क आँखा शिविर उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

जब उज्यालो फर्कियो
नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना र रिड्ली आइ फाउन्डेशनको सहयोगमा सञ्चालन गरिएको तीन दिने शिविरमा प्रियंकालाई ल्याइयो । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारीको नेतृत्वमा उनको जटिल शल्यक्रिया गरियो ।

जब शल्यक्रियापछि प्रियंकाको आँखाको पट्टी खोलियो, उनले आठ वर्षपछि पहिलो पटक यो सुन्दर संसारलाई दुवै आँखाले नियालिन्। उनी र उनका परिवारका सदस्यका आँखा खुसीले रसाए । डा. अधिकारीका अनुसार बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियाले उनको दृष्टि फर्काउनु चिकित्सकीय सफलता मात्र नभई एउटा जीवनलाई नयाँ गति दिनु पनि हो ।

कर्णालीको पीडा र शिविरको सहारा
हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपालका अनुसार प्रियंका त एक प्रतिनिधि पात्र मात्र हुन् । वैशाख १४ देखि १६ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा ५८४ जनाले आँखा परीक्षण गराएका थिए भने प्रियंकाजस्तै १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

कर्णालीका दुर्गम गाउँहरूमा अझै पनि धेरै नागरिक सामान्य चेतना, आर्थिक अभाव र भौगोलिक दूरीका कारण वर्षौँसम्म अन्धोपनको शिकार भइरहेका छन्। “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी” भन्ने नारा बोकेको नेपाल नेत्रज्योति सङ्घले यस्तै विपन्न र पहुँचविहीन नागरिकसम्म पुग्ने लक्ष्य राखेको छ ।

एक नयाँ सुरुवात
आठ वर्षपछि उज्यालोसँग साक्षात्कार गरेकी प्रियंका अब फेरि नयाँ उत्साहका साथ अगाडि बढ्ने छिन् । उनको फर्किएको दृष्टिले केवल एउटा आँखाको उपचार मात्र भएको छैन, बरु एउटा बालिकाको भविष्यप्रतिको भरोसा पनि जागृत भएको छ ।

नेपाल नेत्रज्योति सङ्घले सन् २०२५ सम्ममा करोडौँ नागरिकलाई सेवा दिने लक्ष्य राखे पनि प्रियंकाजस्ता दुर्गमका बालबालिकाका लागि गाउँमै पुग्ने यस्ता शिविरहरू नै वास्तविक बरदान सावित भएका छन् । प्रियंकाको अनुहारमा फर्किएको मुस्कानले भनिरहेको छ – सेवा र प्रविधि दुर्गमसम्म पुग्ने हो भने कोही पनि अँध्यारोमा बस्नु पर्दैन ।