सदनको अवरोध कायमै,मंसिर २४ गतेसम्म बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले आज बुधबारको संसद बैठक पनि चल्न नदिएपछि मंसिर २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
संविधान संशोधन विधेयकको विरोधमा एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले संसद बैठकमा अवरोध गरेका हुन् । बैठक सुरु हुनुअगावै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याइएको र यो ‘राष्ट्रघाती’ भएको आरोप लगाउँदै फिर्ता नलिएसम्म संसद चल्न नदिने बताउनुभयो । केसीले आफ्नो भनाइ राखिसकेपछि विपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध गरे ।
सभामुख ओनसरी घर्तीमगरले विपक्षी दलहरुले उठाएको मागप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै समस्याको समाधानका लागि सदन अवरोध नगर्न आग्रह गरे पनि विरोध नरोकिएपछि सभामुख घर्तीले संसद बैठक मंसिर २४ गते अपरान्ह ३ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
यसअघि पनि विपक्षी दलहरुले पटक पटक संसद अवरुद्ध गर्दै आएका थिए ।