टोल-टोलमा चलचित्रको रङ : काठमाडौँका खुला चोकहरू अब ‘ओपन थिएटर’ बन्ने
काठमाडौँ, जेठ २६ । कल्पना गर्नुस् त, काठमाडौँका पुराना बहाल, वहाः, चोक वा खुल्ला पार्कहरूमा साँझपख ठूलो डिजिटल पर्दा लागेको छ । टोलका बालबालिकादेखि वृद्धवृद्धासम्म बसेर स्थानीय कथा र सन्देशमूलक चलचित्र हेर्दैछन् । काठमाडौँ महानगरपालिकाले यो कल्पनालाई साकार पार्दै ‘टोलटोलमा फिल्म महोत्सव’को भव्य तयारी थालेको छ ।
चलचित्रलाई केवल पर्दाको मनोरञ्जनमा मात्र सीमित नराखी यसलाई समुदायको मुटुसम्म पुर्याउने महानगरको यो नवीन प्रयास हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्न लागेको यस कार्यक्रमले नेपाली चलचित्रकर्मीलाई सीधै दर्शकसँग जोड्ने र चलचित्रलाई एउटा ‘रचनात्मक उद्योग’का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
मनोरञ्जन मात्र होइन, सामाजिक संवाद
महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, “फिल्म केवल रमाइलो गर्ने माध्यम मात्र होइन। यो त शिक्षा, सूचना र सामाजिक सन्देशको शक्तिशाली संवाहक पनि हो । हामी फिल्मकर्मीलाई समुदायसँग जोड्न चाहन्छौँ र चलचित्र पेशालाई समाजमा अझ सम्मानित बनाउन चाहन्छौँ ।”
स्थानीय संस्थाको काँधमा व्यवस्थापनको जिम्मेवारी
यो महोत्सवलाई पूर्ण रूपमा समुदायको सहभागितामा सञ्चालन गरिनेछ। यसका लागि महानगरले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील गैर-नाफामूलक संघसंस्था, युवा क्लब र टोल विकास समितिहरूलाई आह्वान गरेको छ। छनोट भएका संस्थाहरूले महानगरले उपलब्ध गराएका क्युरेटेड फिल्महरू, एलइडी स्क्रिन र साउण्ड सिस्टम प्रयोग गरी आफ्नै टोलका खुल्ला ठाउँमा निःशुल्क फिल्म प्रदर्शन गर्नुपर्नेछ ।
इच्छुक संस्थाहरूले जेठ २७ गते राति १२ बजेसम्म महानगरको वेबसाइटमार्फत आफ्नो प्रस्ताव पेश गर्न सक्ने विभागकी प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।
विज्ञहरूको टोलीद्वारा अनुगमन र छनोट
देखाइने चलचित्रको गुणस्तर र विषयवस्तुमा कुनै सम्झौता नहोस् भन्नका लागि उच्चस्तरीय समिति समेत गठन गरिएको छ। संयोजक आशामान संगतको नेतृत्वमा रहेको यस समितिमा चलचित्र विकास बोर्ड, चलचित्र निर्देशक समाज, किम्फ फाउन्डेसन, युनेस्को नेपाल र नेपाल फिल्म एकेडेमी जस्ता ख्यातिप्राप्त संस्थाहरूका प्रतिनिधिहरू सदस्य रहेका छन् । यसले महोत्सवलाई प्राविधिक र वैचारिक रूपमा अझ सवल बनाउने विश्वास गरिएको छ ।
काठमाडौँको ऐतिहासिकता र आधुनिक प्रविधिको फ्युजन हुने यो ‘सिने-यात्रा’ले सहरको साँस्कृतिक रौनकलाई फेरि एकपटक ब्युँताउने अपेक्षा गरिएको छ। अब सिनेमा घरको अँध्यारो हलमा मात्र होइन, काठमाडौँका गल्ली-गल्ली र चोक-चोकमा चलचित्रको उत्सव छाउनेछ ।