विश्व अर्थतन्त्रमा अनौठो सङ्केत: युद्धका बीच ‘हर्मुजको जलसन्धि’ बाट तेलको गोप्य कारोबार तीव्र
न्युयोर्क (एजेन्सीहरू)। विश्व अर्थतन्त्रका लागि अहिले एउटा ठूलो रहस्य बनेको छ— इतिहासकै गम्भीर तेल आपूर्ति अवरोधका बीच पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य किन स्थिर छ?
इरानसँगको युद्धका कारण विगत तीन महिनादेखि विश्वकै महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुजको जलसन्धि’ लगभग ठप्प छ। ‘जेपी मोर्गन’का अनुसार, युद्धका कारण यस जलसन्धिबाट हुने व्यापारिक यातायात अहिले युद्धपूर्वको तुलनामा १५ प्रतिशतमा झरेको छ। यस्तो भयावह स्थितिमा पनि तेलको मूल्यले अनुमान गरिएजस्तो खतरनाक उचाइ छोएको छैन।
के हो ‘गोप्य आपूर्ति’ ?
ऊर्जा विशेषज्ञहरूका अनुसार, जलसन्धिको दोहोरो नाकाबन्दीका बावजुद ठूलो परिमाणमा कच्चा तेल लुकीछिपी बाहिरिइरहेको छ। नाकाबन्दी छल्नका लागि तेल ट्याङ्करहरूले आफ्नो पहिचान खुल्ने ‘ट्रान्सपोन्डर’ उपकरण बन्द गरेर यात्रा गरिरहेका छन्। जसलाई विज्ञहरूले ‘भूत जहाज’ (Ghost Transits) को संज्ञा दिएका छन्।
जेपी मोर्गनका अनुसार, मे महिनाको अन्तिम दुई हप्तामा मात्रै दैनिक करिब २१ लाख ब्यारेल तेल यसरी गोप्य रूपमा बाहिरिएको अनुमान छ। युद्धअघि यस मार्गबाट दैनिक १ करोड ५६ लाख ब्यारेल तेल ओसारपसार हुन्थ्यो।
जेपी मोर्गनकी विश्व कमोडिटी रणनीति प्रमुख नताशा कानेभाले ग्राहकहरूलाई पठाएको नोटमा लेख्नुभएको छ, “नौसैनिक नाकाबन्दी र व्यापारिक यातायातमा भारी गिरावट आए तापनि हर्मुजको जलसन्धिबाट अझै पनि आश्चर्यजनक रूपमा कच्चा तेल र पेट्रोलियम पदार्थ बाहिरिइरहेको देखिन्छ।”
बजार शान्त हुनुका अन्य कारण
र्यापिडन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनालीका अनुसार यो ‘चुहावट’ले संकटलाई केही हदसम्म कम त गरेको छ, तर यो पूर्ण समाधान भने होइन।
पाइपर स्यान्डलरका ग्लोबल इनर्जी इकोनोमिस्ट जान स्टुअर्टका अनुसार मे महिनामा करिब २९ लाख ब्यारेल तेल हर्मुजबाट बाहिरिएको छ। यसमध्ये करिब २१ लाख ब्यारेल तेल बोकेका जहाजहरूले इरानी निकायहरूलाई ‘टोल’ (महसुल) बुझाएर बाटो तय गरेको देखिन्छ भने बाँकी ९ लाख ब्यारेल ‘भूत जहाज’ मार्फत आपूर्ति भएको हो।
यसका अतिरिक्त, साउदी अरबको ‘इस्ट-वेस्ट पाइपलाइन’ मार्फत दैनिक ४५ लाख ब्यारेल तेल रेड सी (लाल सागर) को यान्बु बन्दरगाह पुर्याइएको छ, जसले गर्दा हर्मुजको अवरोधलाई केही मत्थर पारेको छ। अर्कोतर्फ, विश्वको सबैभन्दा ठूलो उपभोक्ता चीनले आयात घटाएर आफ्नो पुरानो भण्डारण प्रयोग गरिरहेका कारण पनि बजारमा मागको चाप कम देखिएको हो।
खतरा अझै टरेको छैन
शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९३ डलर कायम भयो। यो युद्धपूर्वको ७० डलरभन्दा बढी भए तापनि हालैको उच्चतम विन्दु ११४ डलरभन्दा निकै कम हो।
तर, विज्ञहरूले यो ‘शान्ति’ धेरै समय नटिक्ने चेतावनी दिएका छन्। अमेरिकाको रणनीतिक पेट्रोलियम सञ्चिति सन् १९८० पछिकै न्यून विन्दुमा पुग्न लागेको छ।
“अवस्था अझै खराब हुनेछ,” पाइपर स्यान्डलरका स्टुअर्ट भन्छन्। उनले आगामी जुलाई र अगस्टमा तेलको मूल्य बढेर प्रतिब्यारेल १३० डलर पुग्न सक्ने प्रक्षेपण गरेका छन्। यदि यो प्रक्षेपण सही ठहरिएमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ठूलो उछाल आउनेछ, जसले विश्वभर महँगी थप बढाउने निश्चित छ।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)