संविधान संशोधन विधेयक पास नहुने र चुनाव पनि नहुने अन्तर्राष्ट्रिय समुदायको निष्कर्ष

काठमाडौ । नेपालको विद्यमान राजनीतिक परिस्थिति तथा प्रस्तावित संविधान संशोधनलाई लिएर अन्तर्राष्ट्रिय समुदाय अन्योलग्रस्त देखिएको छ ।
काठमाडौंस्थित राष्ट्रसंघीय प्रतिनिधि भ्यालेरी जुलियाँले आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको बैठकमा विद्यमान राजनीतिक परिस्थितिको आकलनबारे मतभेद देखा परेको तर संविधान संशोधन विधेयक पारित हुन नसक्ने भन्नेबारे एकमत देखिएको छ ।
युरोपेली संघका प्रतिनिधिले प्रस्तावित प्रदेश नम्बर चार र पाँचको सीमा हेरफेरसम्बन्धी विधेयकले नेपाललाई राम्रो गर्ने राय दिए पनि त्यसबारे एकमत बन्न सकेन । सम्भवतः त्यही मतभेदकै कारणले अक्सर नेपाली राजनीतिक दलहरूलाई सुझावसहित सहमतिमा आधारित वक्तव्य जारी गर्ने गरेको परम्परा रहे पनि यसपल्ट उनीहरूले कुनै वक्तव्य या सुझाव सार्वजनिक गर्न चाहेनन् ।
‘वक्तव्य जारी गर्ने विषयमा छलफल भए पनि संवेदनशील घडी भएकाले राष्ट्रसंघीय आवासीय संयोजकले नै वक्तव्य जारी नगरौं भन्नुभएकाले वक्तव्य नआएको होु जानकार स्रोतले भन्यो ।
राष्ट्रसंघ भवनमा भएको बैठकमा अमेरिका, युरोपेली युनियनलगायत मुलुकका राजदूतले सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अनुमोदन हुने सम्भावना क्षीण रहेको आफ्नो मूल्यांकन सुनाएका थिए ।
‘प्रमुख प्रतिपक्षी एमाले, मधेसी मोर्चा र राप्रपाले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने देखिएपछि संशोधन प्रस्ताव अनुमोदन नहुने परिस्थिति बनेको देखिन्छ,ु बैठकको निष्कर्ष थियो ।
कूटनीतिक स्रोतका अनुसार बैठकमा नेपाल सरकारले स्थानीय तहको चुनाव गर्ने भने पनि पर्याप्त तयारी नगरेको केही कूटनीतिज्ञले बताएका थिए ।