एसिसी महिला प्रिमियर कप: थाइल्याण्डसँग पराजित हुँदै नेपाली टोली एसिया कप छनोट होडबाट बाहिरियो

काठमाडौँ, २७ जेठ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसिया कपको छनोट होडबाट बाहिरिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो।

थाइल्याण्डले प्रस्तुत गरेको १३१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा समेटियो। नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिनुभयो। यस्तै, सोनी पाख्रिनले १५ रन जोड्नुभयो भने सम्झना खड्का र सीता रानामगरले समान १२/१२ रन जोड्नुभयो। अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३० रनको बलियो योगफल तयार पारेको थियो। थाइल्याण्डका लागि प्रारम्भिक ब्याटर नानापाट खोन्चारोयन्काइले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन जोड्नुभयो। यस्तै, फानिता मायाले २६ रन, चानिदा सुथिरूवाङले १६ रन तथा कप्तान नारूमोइ चाइवाइले ८ रन जोड्नुभयो।

बलिङतर्फ नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १/१ विकेट लिनुभयो। यसै महिना मलेसियामा नै भएको खेलमा चीनसँग पराजित भएसँगै नेपाली टोली एसियन गेम्सको छनोट होडबाट पनि बाहिरिएको थियो। आगामी एसियन गेम्स यसै वर्ष जापानमा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *