रास्वपाको बागमती प्रदेश अधिवेशन मतदाता नामावली विवादले अड्कियाे
हेटौँडा, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीको विषयलाई लिएर उत्पन्न विवादका कारण स्थगित भएको छ। हेटौँडामा बुधबार आयोजित अधिवेशनमा विवाद बढ्दै गएपछि निर्वाचन समितिले मतदान प्रक्रिया रोकी अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
अधिवेशनका क्रममा निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहानबाट मतदान प्रक्रियासमेत सुरु गरिसकेको थियो। तर, नामावलीलाई लिएर असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच विवाद बढेपछि मतदान कार्य बीचमै रोकिएको अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए।
विवाद उग्र बन्ने स्थिति देखिएपछि निर्वाचन समितिले तत्कालका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्दै कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको थियो। समितिको सोही निर्देशन र अनुरोधका आधारमा सुरक्षाकर्मी (प्रहरी) ले कार्यक्रम स्थल खाली गराएको छ।