एमाले अध्यक्ष ओली र सभामुख घर्तीमगरबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीमगरबीच भेटवार्ता भएको छ । विहीबार भएको भेटवार्तामा सभामुख घर्तीमगरले संविधान संशोधनको विषयलाई लिएर भएको सदनको अवरोध हटाउन सहमतिका लागि आग्रह गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले सहमति गरी सही निकास दिन एमाले बाधक नभएको कुरा सभामुखलाई बताउनुभएको ओलीका स्वकीय सचिव राजेश ब्रजाचार्यले बताउनुभयो । एमाले अध्यक्ष ओलीले सहमतिको वाधक नै अहिले सरकार भएको स्पष्ट गर्नुभयो । एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता ओलीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म सहमति हुनै नसक्ने बताउनुभयो ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तापछि पत्रकार सँग कुरा गर्दै ओलीले भन्नुभयो, ‘एमाले सहमति गर्न तयार छ । तर, सहमतिका लागि व्यवस्थापिका संसद्‍मा दर्ता भएको संविधान संशोधन विधेकय सम्बन्धीको प्रस्ताव फिर्ता हुनुपर्छ ।’
सभामुखको आग्रहपछि ओलीले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए एक मिनेटपनि संसद अवरुद्ध नहुने प्रष्ट जवाफ दिनुभयो ।
‘हाम्रो पहिलो सर्त नै संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने हो’, ओलीले भन्नुभयो, ‘संशोधन प्रस्ताव फिर्ता भए नयाँ सहमतिका आधारमा अगाडि बढ्न सकिन्छ ।’
ओलीसँगको छलफल अघि सभामुखले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।