म्याग्दीका तीन स्थानमा नदी नियन्त्रण योजना सम्पन्न : बस्ती र खेतीयोग्य जमिन सुरक्षित
काठमाडौँ, जेठ २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्षमा जिल्लाका तीन फरक स्थानमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणका योजनाहरू सफलतापूर्वक सम्पन्न भएका छन् । बाढी र नदी कटानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित यी योजनाहरू निर्धारित समयभन्दा अगावै सकिएका हुन् ।
कार्यालयका अनुसार अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा तटबन्ध निर्माण गरिएको हो । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले सालबसाली कार्यक्रमअन्तर्गतका यी तीनवटै योजनाको काम लक्ष्यअनुसार नै सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
पोखरे बगर (अन्नपूर्ण ६), कालीगण्डकी नदी किनारमा २६ मिटर लामो पक्की (कम्पोजिट प्रविधि) पर्खाल निर्माण गरिएको छ । रुप्से बिल्डर्स प्रालिले २७ लाख ९५ हजार रुपैयाँको लागतमा सो योजना सम्पन्न गरेको हो । सिंगा तातोपानी (बेनी ४), माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्र र बस्ती संरक्षणका लागि तटबन्ध गरिएको छ । एसके कन्ट्रक्सनले १४ लाख ९९ हजार रुपैयाँमा सो निर्माण कार्यको जिम्मा पाएको थियो । सिम (मङ्गला २), म्याग्दी नदीको किनारमा ४६ मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ । हरिवर तिवारी निर्माण सेवाले २६ लाख ८० हजार रुपैयाँमा यो योजना सम्पन्न गरेको हो ।
नदी नियन्त्रणको काम सम्पन्न भएपछि तटीय क्षेत्रका बासिन्दाहरूले राहत महसुस गरेका छन् । स्थानीय ध्रुव केसीले तटबन्ध निर्माणपछि बस्ती र खेतीयोग्य जमिन कटानको जोखिम हटेको बताउनुभयो । उहाँले तटीय क्षेत्रलाई पूर्ण सुरक्षित बनाउन यस्ता संरक्षणका योजनाहरूलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
डिभिजन कार्यालयले यी योजनाहरूको सफल कार्यान्वयनसँगै बाढी र कटानको जोखिममा रहेका अन्य क्षेत्रहरूको पहिचान र व्यवस्थापनमा पनि सक्रियता देखाउँदै आएको छ ।