अन्नबाली छाडेर केरा खेतीतिर बोरुङ : थोरै मेहनत, मनग्य आम्दानी

काठमाडौँ, जेठ २८ । कुनै समय इलामको माई नगरपालिका ९, बोरुङका खेतबारीमा धान, मकै र कोदो लहलहाउँथे । तर, आज बोरुङको दृश्य बदलिएको छ । यहाँका पाखापखेरा र खेतबारी अचेल हराभरा केराघारीमा परिणत भएका छन् । परम्परागत खेतीबाट सोचेजस्तो लाभ लिन नसकेका यहाँका करिब ८० घरधुरी किसान अहिले व्यावसायिक केरा खेतीमार्फत आत्मनिर्भरताको नयाँ बाटो पहिल्याउँदै छन् ।

अन्नबालीभन्दा तेब्बर आम्दानी
बोरुङका किसानले अहिले अन्नबाली फल्ने जग्गा मासेर केरा लगाउन थालेका छन् । कारण स्पष्ट छ– मिहिनेत कम, आम्दानी धेरै । स्थानीय किसान टुपेन्द्र लिम्बू यसका उदाहरण हुन् । उनले १० रोपनी जग्गामा एक हजार बोट केरा रोपेका छन् । पाँच वर्षदेखि व्यावसायिक खेतीमा लागेका लिम्बूले केरा बेचेरै वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म कमाउँदै आएका छन् ।

“पहिले अन्न खेती गर्दा दिनरात खट्नुपथ्र्यो, तर उब्जनीले घरखर्च धान्न धौ–धौ हुन्थ्यो,” लिम्बू भन्छन्, “अहिले केरा खेतीबाट अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी भइरहेको छ । प्रतिघरी ३०० देखि ७०० रुपैयाँसम्ममा बगानबाटै बिक्री हुन्छ ।”

घरैमा आउँछन् व्यापारी
केरा खेतीमा लागेका अर्का किसान मिलन राईको अनुभव पनि उस्तै सुखद छ । ५०० बोट केरा रोपेका उनले वार्षिक डेढ लाख रुपैयाँ सजिलै कमाउँछन् । उनी भन्छन्, “बजारको कुनै चिन्ता छैन । व्यापारीहरू गाडी लिएर घरमै आउँछन् । अन्नबालीलाई जस्तो धेरै गोडमेल र श्रम पनि नचाहिने, आम्दानी पनि छिटो हुने ।”

बोरुङका किसानहरूले चिनीचम्पा, धुस्रे, काबेली, झाजी, भण्डारी र झपरी जस्ता स्थानीय प्रजातिका केरालाई व्यावसायिक रूप दिएका छन् । रोपेको नौ महिनादेखि एक वर्षभित्रै उत्पादन लिन सकिने र एक पटक रोपेपछि लामो समयसम्म आम्दानी भइरहने हुनाले यसप्रति आकर्षण बढेको हो ।

फेरिँदै ग्रामीण अर्थतन्त्र
स्थानीय नमूना सामुदायिक वन र माई नगरपालिकाको सहयोगमा गाउँसम्म सडक पुगेपछि किसानलाई थप सहज भएको छ । सडक विस्तारसँगै केराको उचित मूल्य पाउन थालेको वडा सदस्य विनोद साउदेन बताउँछन् । यहाँ उत्पादित केरा झापाका बिर्तामोड, काँकडभिट्टा, दमकदेखि सुनसरीको धरान, मोरङको विराटनगर र राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।

गत वर्षदेखि केरा खेती सुरु गरेका तीर्थ साउदेनले पहिलो वर्षमै ८० हजार रुपैयाँ आम्दानी गरे । “सानो लगानीबाट सुरु गरेको थिएँ, यसले घरव्यवहार चलाउन निकै सजिलो बनाएको छ,” उनले खुसी व्यक्त गरे ।

विस्तार हुँदै केराको ‘हब’
बोरुङ मात्र होइन, दक्षिणी इलामका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ र चुलाचुली क्षेत्रमा पनि व्यावसायिक केरा खेतीको लहर चलेको छ । बाँझो जमिन र पाखापखेराको सदुपयोग गर्दै किसानहरूले केरा खेतीलाई रोजगारी र आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

थोरै लगानीमा मनग्य आम्दानी हुने यो व्यवसायले इलामका किसानहरूलाई वैदेशिक रोजगारीको विकल्प मात्र दिएको छैन, ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउँदै लगेको छ । बोरुङका किसानहरूको यो सफलता अन्य क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।