झुक्याएर संशोधन पेश गरेको होइन, मैले पहिलेझै बीचैमा राजीनामा दिन्न : प्रचण्ड

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसदमा संविधान संशोधनको प्रस्ताव पेस गरिएको दावी गर्नुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भन्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो” उहाँले थप्नुभयो – “हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”
बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उहाँले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”

एमालले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उहाँले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताउनुभयो ।
अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो । गृहमन्त्री अर्को कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भन्नुभएको पनि उहाँले बताउनुभयो ।
दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उहाँले बताउनुभयो । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताउनुभयो ।
अर्को फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बीचैमा आफूले नछाड्ने बताउनुभयो । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उहाँले भन्नुभयो–“महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।”