संकुचित सोचले नेपाल छिन्नभिन्न हुने खतरा
— बीके नेवा

नेपालमा गणतन्त्र,संघीयता र धर्मनिरपेक्षतालाई गलत ढंगले बुझ्दा,बुझाइँदा र गलत व्यवहार गरिँदा एउटै साझा फूलबारीमा विविध मालामा उनिएर बसेका नेपालीहरु आज हरेक हिसाबले संकुचित र विभाजित मानसिकतामा छन् । राष्ट्रिय एकता र मेलमिलापको गाँठो चुँडिन थालेको छ । नेपाल राष्ट्र नारामा सीमित हुँदैछ । हिजोका बाइसी चौबीसी राज्यभन्दा पनि अझ विभाजित राज्यको मालिक बन्ने साँधुरो सोच बनाउँदै पहिचानका नाममा गणतन्त्र,संघीयता र धर्मनिरपेक्षतालाई त्यहीरुपमा अथ्र्याउन थालेका समकालीन नेताहरुकै कारण मुलुक इतिहासकै सबैभन्दा अप्ठेरो अवस्थामा आइपुगेको छ । नेपाल छिन्नभिन्न हुँदैछ भन्ने जान्दाजान्दै पनि आफ्नो क्षणिक जातीय,साम्प्रदायिक र धार्मिक सोचमा रुमलिएका नेताहरुले आम नेपालीको एकताको मनस्थिति नै विगारिदिए । जसले गर्दा हिजोसम्म एकआपसमा मिलेर बसेका आम नेपालीहरु आज एकआपसमै शत्रूतापूर्ण व्यवहार गर्न थालेका छन् । पहिचानका नाममा नेपालले आफ्नो पहिचान नै गुमाउने अवस्था सिर्जना भएको छ । हाम्रा लागि यो सबैभन्दा ठूलो विडम्बना हो ।
‘यो मेरा साना दुःखले अज्र्याको मुलुक होइन सबलाई चेतना भया,नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो’ भन्दै बाइसे चौबीसे राज्यमा विभाजित पहिचान गुमाउँदै गएको नेपाललाई एकीकरण गरी विशाल र समृद्ध नेपाल बनाउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जसले गर्दा आज विश्वसामु हामी नेपाली भनेर पहिचन स्थापित गर्दै गर्व गर्न पाएका छौँ ती राष्ट्रनिर्मातालाई आज शत्रू बनाइँदै छ , जातीय पहिचान,जातीय राज्यको सपना बाँडेर उनलाई महान् शत्रूका रुपमा व्यवहार गरिँदै छ गर्न लगाइँदै छ । विदेशीको डलर खाएर जातीय,क्षेत्रीय र साम्प्रदायिक राजनीति गर्दै नेपाल समाप्त पार्न चाहने तत्वहरुको लै लैमा लागरे पृथ्वीनारायण शाहलाई महान् शत्रू बनाउने जुन खेल भइरहेको छ यो आत्मघाती खेल हो ।
आज आफूलाई महान् राष्ट्रवादी भन्ने जातिवादी नेताहरुले जाति र धर्मका नाममा राजनीति गर्दै नेपाललाई समाप्त पार्दै छन् । उनीहरुले जानेरै पृथ्वीनारायण शाहको योगदान मेटाउँदै,अनावश्यक भ्रमको खेती गर्दै अबको पुस्तालाई भ्रममा पार्दै छन् । नेपाल एकीकरणका नाममा जातीय राज्य खोसिदिएर पृथ्वीनारायण शाहले नेपालका जनजाति र आदिवासीहरुमाथि अन्याय र अत्याचार गर्यो, दमन गर्यो भन्दै अनर्गल प्रचार गर्दै हिँडेका जातिवादी नेताहरुलाई के कुराको हेक्का हुुनुपर्छ त्यस्तो कठिन र जटिल अवस्थाको एकीकृत नेपालको स्वरुपै लिन नसकेको मुलुकलाई पृथ्वीनारायण शाहले आफ्नो सारा जीवन नै नेपाल एकीकरणको युद्धमा समर्पण नगरेको भए नगरेको भए आज नेपाल नै रहने थिएन , नेपाललाई छिमेकी मुलुकले बिलय गराई हामीलाई दास र रैती बनाउने थिए । यो यथार्थलाई बुझ बुझेर पनि बुझ पचाउनु नेपाल आमाप्रति गद्दारी गर्नु हो ।
पृथ्वीनारायण शाहको पालामा नेपाल अत्यन्तै कमजोर थियो । अत्यन्तै दूरदर्शी योद्धा युगपुरुष,नेपाल आमामा सच्चा सपूत पृथ्वीनारायण शाहले बुद्धिमत्तापूर्ण ढंगले नेपाल एकीकरण गरी बलियो राष्ट्र बनाई नेपालमा बस्ने सबैलाई नेपाली भन्ने पहिचान दिए । उनले यो काम नगरेका भए चारैतिरबाट विदेशी शत्रूले घेरिएको नेपाललाई कि अङ्गेजले उपनिवेश बनाउने थियो कि भारतले बिलय गराउने पक्कै थियो । उनले हिम्मत गरेर नेपाललाई एकीकरण गरी आन्तरिक र बाहय दुवै अतिक्रमणबाट मुलुक जोगाउने काम मात्र गरेनन् आम नेपालीलाई स्वतन्त्र राष्ट्रको स्वतन्त्र नागरिक बनाए । विश्वमानचित्रमा नेपाल भनेर कहिल्यै कसैको उपनिवेश नबनेको स्वतन्त्र राष्ट्र भनी पहिचान गराउने पृथ्वीनारायण शाह नै नेपालको राष्ट्रिय एकताका प्रतीक हुन् तर दुर्भाग्य यस्ता वीरपुरुष राष्ट्रिय विभूतिलाई आज राज्यले बेवास्ता गरेको छ । जनताको राजनीतिक व्यवस्थाको उच्च रुप मानिने गणतान्त्रिक व्यवस्थामा त झन् सबैको मान र सम्मान हुनुपर्ने,वीर पितापूर्खाहरुले रागत पसिना बगाएर मुलुक बचाए, पहिचान स्थापित गराए उनीहरुको योगदानको कदर गर्दै वीरगाथा गाउनुपर्ने, उनीहरुबाट प्रेरणा लिदै उन्नन र समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने बेलामा पितापूर्खालाई सराप्ने,अपमान र तिरस्कार गर्ने जुन गलत बाटोमा अहिले नेपाललाई लगिँदै छ कसैको ईशारामा,यो मुलुकलाई अन्धाकार बनाउने र समाप्त पार्ने सुनियोजित षडयन्त्रबाहेक अरु केही होइन । अहिलेका सत्ताधारी नेताहरुको व्यवहार ,बोली र चरित्र हेर्दा उनीहरु आफै सञ्चालित छैनन्, उनीहरुले मुलुक हाँकी रहेका छैनन् ,कसैले उनीहरुलाई चलाइरहेको छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ ।
यस पटक २९५ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसदेखि सरकारले सार्वजनिक विदा दिएर पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्छ भनी जनस्तरबाट आवाज उठ्यो,संसद्मा पनि कुरा उठ्यो,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुनलगायताका नेताहरु पनि सार्वजनिक विदा दिनुपर्ने र यो दिवस मनाउनुपर्छ भन्ने पक्षमा थिए र उनीहरुले पृथ्वीनारायण शाहको योगदानको मुक्तकण्ठले प्रशंसा पनि गरे तर कसैको दबाब आएपछि सार्वजनिक विदा दिइएन । विदा दिने हिम्मत प्रचण्डले गर्न सकेनन् । नेपालीलाई चासो र सरोकार नै नभएको क्रिसमम डे मा भने रातारात कसैको दबाबमा विदा दिने निर्णय उनले गरे । यसबाट के स्पष्ट हुन्छ भने अहिले नेपालमा नाममात्रको सरकार छ । यो सरकार कसैले चलाएको छ आफै चलेको छैन । स्वतन्त्र र सार्वभौम मुलुकका लागि यो भन्दा लज्जाको विषय अरु के हुनसक्छ ?
नेपालमा दोस्रो जनआन्दोलन कसैको निर्देशनमा गराइएको थियो । गणतन्त्र,धर्मनिरपेक्षता,संघीयता आन्दोलनको माग थिएन । गणतन्त्र आएपछि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कसैको निर्देशनमा मन्त्रीस्तरीय निर्णय गरी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विदा कटौती गरे । जनस्तरबाट यस निर्णयको विरोध पनि भयो तर विरोधलाई बेवास्ता गरिँदै छ । नेपाली जनताको भावनालाई बेवास्ता गर्दै विदेशीको इशारामा राजतन्त्र फाल्ने, राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती विदा कटौती गर्ने,हिन्दू राष्ट्र हटाउने जस्ता जनविरोधी काम गर्दै मुलुकलाई नेतृत्वविहीन र अराजतकतातर्फ धकेल्दै दुर्घटना गराउने खेल भइरहेको छ । तिनै पृथ्वीनारायण शाहले अज्र्याको मुलुकको नेता,मन्त्री,प्रधानमन्त्री हुन पाएका अहिलेका सत्ताधारीहरुले किन आफ्ना पूर्खाहरुले बगाएको रगत पसिना विर्सदै छन् र उनीहरुलाई अपमान गर्दै छन् ? आम नेपालीले खबरदारी गर्नुपर्ने बेला आएको छ ।