कसले गर्ने नेपालमा लगानी ?
विवेक श्रेष्ठ

नेपाल चरम अप्ठेरो अवस्थामा छ । वर्तमान माओवादी—काँग्रेस गठबन्धन सरकारले मुुलुकलाई झन् बन्धक बनाउने काम गरेको छ । संविधान कार्यान्वयन गर्दै चुनावतिर लाग्नुपर्ने बेला प्रभुहरुको इसारामा संविधान असफल पार्न संविधान संशोधनको नाटक गर्दै भ्रमको खेती गर्दै छन् ।
काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने झै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतका नेताहरु ढुकुटी रित्र्याउँदै विदेश यात्रा छन् भने काँग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु जिल्लातिर रमाउँदै छन् । देश र जनताको समस्याप्रति उदासिन केबल सत्तामात्र देखेका यस्ता नेताहरुले गर्दा आज नेपालीहरुको अवस्था झन् अन्यालपूर्ण बनेको छ ।
एक दशक लामो सशस्त्र द्वन्द्व, राजनीतिक सङ्क्रमण काल र गत वर्षको महाविनासकारी भूकम्पबाट भएको ठूलो जनधनको क्षतिको पृष्ठभूमिमा नेपाललाई ठूलो मात्रामा पुँजी,प्रविधि, दक्ष तथा अनुभवी जनशक्तिको आवश्यकता परेको छ । तहस नहस भएको यो मुलुकको पुनःनिर्माणका गर्न स्वदेश भित्रको पुँजी,प्रविधि र जनशक्तिले मात्र सम्भव नदेखिएकाले विदेशमा रहेका नेपालीहरुले सिकेको सीप, अनुभव,पुँजी र प्रविधि साथसाथै विदेशी लगानीसमेत भित्र्याउनुपर्ने आवश्यकता छ । राष्ट्रिय गौरबका आयोजनाहरु, कृषि,पशुपालन,पूर्वाधार क्षेत्रको निर्माण,जलस्रोत तथा पर्यटन क्षेत्रको विकासमा ठूलो लगानी चाहिएको छ ।
लामो समयसम्मको राजनीतिक अस्थिरता र बेमेलका कारण आर्थिक विकासले गति लिन नसकी लगानीमैत्री वातावरण बन्न नसेकेको र रोजगारीका अवसरसमेत सिर्जना गर्न नसकिएकाले कामका लागि लाखौँको सङ्ख्यामा नेपालीहरु विदेसिनु परेको छ । यतिमात्र होइन लगानीसुरक्षा र सम्मान नभएकै कारण यहाँका उद्योगहरु घमाधम बन्द हुनुका साथै स्वदेशी पुँजी र प्रतिभासमेत पलायन भइरहेको तीतो अनुभव हामीसँग छ । काम र अवसरको खोजीमा लागि संसारका धेरै देशहरुमा पुगेका नेपालीहरुले रगत पसिना बगाएर निर्माण गरेको पुँजी र उनीहरुको पठाएको कमाइ (विप्रेषण) नै अप्ठेरो अवस्थामा रहेको अहिलेको नेपाली अर्थतन्त्र चलाउने प्रमुख आधार बनेको छ । विदेशमा रहेका नेपालीहरुले समयमै विप्रेषण नपठाउने हो भने मुलुकको अर्थतन्त्र नै चल्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउन देशको आन्तरिक व्यवस्थापनलाई जोड दिन आवश्यक छ तर दुःखको कुरा एकातिर विदेशी भूमिमा नेपालीहरुको रगत पसिनाको कमाई धेरैजसो अंश स्वदेशमा अनुत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ भने अर्कातिर सत्ताधारीहरुबाटै मुलुकको ढुकुटी रित्र्याउने काम भइरहेको छ । मिहिनेतको कमाइलाई स्वदेशमा उत्पादनशील क्षेत्रमा लागनी गर्न नपाउँदा, लगानीमैत्री वातावरण, सम्मानपूर्वक बाँच्ने र बस्ने अवस्था नहुँदा विदेशमा ठूलो कमाइ गरिसकेका नेपालीहरुले उतै घरजम र व्यवसायमा लागनी गर्न थालेकाले नेपाली कमाई उतैतिर थन्किने सम्भावना नेपालका लागि चिन्ताको विषय बन्दै छ । यस्तो अवस्थामा उनीहरुलाई नेपालप्रतिको मोह भङ्ग हुन नदिन, स्वदेशप्रति आकर्षित गर्न विभिन्न आकर्षक कार्यक्रमसहितको अभियान चलाउनुपर्नेमा सत्ताधारीहरुलाई केबल सत्ताको मात्र चिन्ता छ ।
देशका जल्दाबल्दा समस्यालाई एकातिर पन्छाएर दसौँ विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्म (यूएई)गएका प्रधानमन्त्री प्रचण्ड त्यहाँ रहेका नेपाली कामदार तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा प्रवासी नेपालीहरुको समस्या समाधान गर्न सरकार गम्भीर भएका अभिनय गर्दै नेपालमा लगानी गर्न आग्रह गरे । तर प्रवासी नेपालहरुले र विदेशीहरुले नेपालमा लगानी सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गरे । प्रवासी नेपालीहरुले नेपालमा लगानी गर्न चाहेको तर लगानीका लागि उपयुक्त वातावरण नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।
उता अमेरिकामा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(एनआरएन) अमेरिकाको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा पीआर,ग्रिनकार्ड लिएर बसेका प्रवासी नेपालीहरु पनि नेपाली नागरिकहरु नै भएकाले प्रवासबाटै भोट लिने व्यवस्था मिलाउन सरकारले आवश्यक गृहकार्य गरिरहेकोले मातृभूमिलाई माया गर्दै नेपालमा लगानी गर्न प्रवासी आग्रह गरे । त्यहाँ पनि प्रवासी नेपालीहरुले नेपालमा लगानी गर्ने वातारण नै बन्न नसकेको, आठ—नौँ महिनामै सरकार फेरिने स्थितिमा कसको कुरा कसरी पत्याउने भन्दै मन्त्रीलाई नै नाजबाफ बनाए ।
न प्रचण्डका कुरा र डा. महतका कुरामा प्रवासीहरुले मात्र होइन विदेशीहरुले विश्वास गरे । ऊर्जा सम्मेलनमा प्रचण्डले नेपालको ऊर्जामा लगानी गर्न गरेको आग्रहलाई सहभागी कसैले पनि गम्भीरतापूर्वक लिएनन् । प्रचण्डको खाडी मुलुक भ्रमण असफल भयो तर झूठो बोल्न सिपालु उनले आफ्नो यात्रा सफल भएको दावी गर्दै छन् ।
अत ः नेपाल अहिले राजनीतिको जटिल चक्रव्युहमा फसको छ । यो चक्रव्युहबाट मुक्त गर्न अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नैपर्छ त्यसका लागि नेपाली जनताले नै दबाब दिनुपर्छ नत्र नेपाल झन् अन्धकार बन्ने छ ।