राष्ट्रघाती काम गर्नेलाई जेल हाल्नुपर्छ : रावल

maitrinews

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसी मोर्चाका नेतालाई जेल हाल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । राजधानीमा आयोजित एक अन्तरक्रियामा उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले आफूलाई केही मधेसी नेताहरुले जेल हाल्ने धम्की दिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग उहाँले उनीहरुलाई नै जेल हाल्न सुझाव दिनुभएको भयो । ‘जेल मलाई होइन राष्ट्रघाती काम गर्ने मधेसी नेताहरुलाई हाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विदेशी दूतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा गर्ने उनीहरुलाई नेपालको कानुन अनुसार जेल हाल्नुपर्छ । यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने उनीहरुलाई जेल हालोस् ।’
उहाँले मधेसी मोर्चाका नेताहरुलाई भारती दूतावासको भात खाएर राष्ट्रियताको कुरा नगर्न सुझाव पनि दिनुभयो । ‘जनताबाट पराजित भएपछि विदेशी दूतावासमा गएर भात खादैँ पहाडबाट मधेस अलग गर्ने योजना बनाउने नेताहरुले राष्ट्रियता र मधेसको कुरा गर्न सुहाउँदैन,’ रावलले भन्नुभयो । उहाँले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव नरोकिने पनि दाबी गर्नुभयो । मधेसी मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्यसमेत समाप्त हुने चेतावनी उहाँले दिनुभयो ।
संविधान सभाको दोस्रो निर्वाचनमा मोहन वैद्यहरु निर्वाचन वहिष्कार गर्दा पनि निर्वाचन भएको स्मरण गराउँदै उहाँले भन्नुभयो ‘मेधेसका दुई–चार जना ठालूले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन् ।’
पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित र केही पत्रकारहरुले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफू थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको तर उहाँले हल्का ढंगले लिएको र उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेको पनि आरोप लगाउनुभयो । उहाँले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाउनुभयो ।