एमालेको मेची—महाकाली अभियानमा २५ लाख मानिस परिचालित हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मेची—महाकाली जनपरिचालन अभियानमा २५ लाख मानिस परिचालन गर्ने भएको छ । फागुन २१ देखि शुरु हुने मधेस जनपरिचालनमा मधेसमा संगठन सुदृढीकरण तथा जन परिचालनको तयारीमा एमाले जुटेको हो ।
एमालेविरुद्ध नियोजित रुपमा मधेस विरोधी भनेर प्रचार गरिएकाले केन्द्रीय कमाण्ड नै मधेस झरेर सबै भ्रम चिर्ने वृहत तयारी भइरहेको २ नम्बर प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताउनुभयो ।
एमालेले फागुन २१ माघमा झापाको काँकडभिट्टाबाट शुरु गर्ने मेची महाकाली तराई मधेस केन्द्रित अभियानमा २५ लाख मानिस परिचालित हुने लक्ष्य राखेको छ ।
केन्द्रीय सचिवालयका सचिव प्रदिप ज्ञवालीका अनुसार यसबीचमा तराई मधेसका विभिन्न शहर र सदरमुकाममा ३५ ओटा ठूला आमसभा हुनेछन् । ती आमसभाअघि सानातिना प्रचार सभाहरु समेत मधेसमा हुनेछन् । ज्ञवालीले भने(काँकडभिट्टाबाट अघि बढेको टोली बिर्तामोडमा पुगेर अर्को सभा गर्नेछ ।
विभिन्न ठाउँमा बास बस्दै तराईका शहरमा ठूलाठूला सभासहित जनपरिचालन गर्नेछ । यस क्रममा करीव २५ लाख जनता परिचालन हुनेछन् । पहाड र हिमालका जिल्लाहरुमा ४ महिने अभियानबाट उत्साहित भएको एमाले अब तराई मधेसमा केन्द्रित हुन थालेको हो ।

यसपटक राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलंगवा, वीरगञ्जजस्ता शहरमा पनि ठूला सभा र जनपरिचालनको कार्यक्रम एमालेले तय गरेको छ ।
यो अभियानको स्वरुप र्‍याली र सभाहरु हुनेछन् । तर, अभियान निरन्तर चल्नेछ र केन्द्रबाट एक हजारजनाको टोदली अभियानको अन्तसम्म पूर्णकालीन रुपमा खटिनेछ । यो १ हजारको टोलीमा पार्टी अध्यक्ष केपी ओलीसहित केन्द्रीय नेताहरु, स्वयंसेवक, सांस्कृतिककर्मी, स्वास्थ्यकर्मीहरु हुनेछन् ।