अन्योलमा सम्पदाको भविष्य
—डा.साफल्य अमात्य

maitrinews

भत्काएर नयाँ बनाउनु कुनै पुरुषार्थको काम होइन । हुबहु त्यस्तै आकारप्रकार, नाप नक्शा सबै कुरा मिल्ने गरी प्रतिकिर्ति अर्थात् रेप्लिका बनाउनु पनि कुनै गाह्रो काम होइन । आजको संसारमा प्रविधिको यति धेरै विकास भइसकेको अवस्थामा पनि खासै गहिरिएर अध्ययन÷अनुसन्धान नगरी विषयको जानिफकार र अनुभवी विज्ञहरुसँग सरसल्लाह नगरी कुनै पनि प्राचीन ऐतिहासिक संरचनाहरु भत्काई त्यही जोडाको प्रतिकिर्ति खडा गर्नु कुनै बुद्धिमानी होइन ।
हाम्रो देशका केही गिनेचुनेका स्ट्रक्चरल इन्जिनियरहरुको प्रतिवेदनका भरमा भवन विभाग होस् वा पुरातत्व विभाग कसैले पनि सिंहदरवारलाई पूर्णतया भत्काई त्यसको प्रतिकिर्ति बनाई ठड्याउने काम सजिलो हुनेमात्र होइन आर्थिक दृष्टिकोणले पनि सस्तो होला तर यसरी नेपालको आधुनिक इतिहासको धरोहर बोकेको यो दरवारको पुरातात्विक र सौन्दर्यको महत्व कायम राख्न भने यो स्मारकलाई पुरानै स्वरूपमा ज्युका त्युँ जोगाइराख्नुमा नै हुन्छ ।
सुर्की चुनाले जोडी इँटाबाट १८औं÷१९औं शताब्दीहरुमा संसारभर धेरै ठूला ठूला दरवार, घर र स्मारक बने । यही लहडमा राणाकालीन नेपालमा धेरै दरवार, महल, घर र स्मारक बनेका थिए । भूकम्पपछि हाम्रो देशका विज्ञले सर्वप्रथम यी स्मारकको हानिबारे राम्ररी अध्ययन÷अनुसन्धान गर्नुपर्छ । यो हानि कस्तोखालको छ भनी मूल्याङ्कन गर्नुपर्छ । यस कामका लागि सबैभन्दा आवश्यक व्यक्ति भनेकै वास्तुकला संरक्षणसम्बन्धी विशेषज्ञ हो । यिनैको रोहवरमा उक्त सम्पदाको अनावश्यक किसिमसँग संरचना तथा भाग भत्काउनबाट रोकिनुका साथै सम्पदाका कलाकृर्ति र पुरातात्विक वस्तु पनि बचाउनुपर्छ । तर दुर्भाग्यको कुरा छ, हाम्रो देशमा वास्तुकला संरक्षणविद् भन्न सकिने व्यक्ति शायद औलामा गन्न सकिन्छ ।
केही दिनअघि विभिन्न सञ्चारमाध्यमद्वारा सिंहदरवार भत्काउन ‘सुझाव प्रतिवेदन’ शीर्षकमा समाचार संप्रेषण भएका थिए । शहरी विकास मन्त्रालयले बुझाएको प्रतिवेदनमा सिंहदरवारलगायत अन्य करिब एक दर्जन राणाकालीन दरवार र घर सवलीकरण अर्थात् रेट्रोफिटिङ गर्न नसकिने हुनाले पूर्णतया भत्काउनुपर्ने सुझाव दिएको रहेछ । यीमध्ये राणाकालीन दरवारहरुमा सबैभन्दा ऐतिहासिक, महत्वपूर्ण र वास्तुकलाको दृष्टिकोणले पनि अद्वितीय मानिएका सिंहदरवार र सिंहदरवार परिसरभित्रकै पुरानो नाचघर जसलाई पछिबाट संसद् भवन र राष्ट्रिय पञ्चायत भवनमा परिणत गरियो, उक्त भवनको पनि त्यत्तिकै ऐतिहासिक र भावनात्मक महत्व छ । यी दुईवटा स्मारकको हकमा अन्य राणाकालीन दरवारझैं हलुका किसिमबाट पूर्णतया जगैसम्म भत्काई फेरि पुनर्निर्माण गर्ने भनेको हाम्रो इतिहास, गौरव, परम्परागत वास्तुकलाका शिल्पीहरुको मेहनत, सिप, ज्ञान र योगदान नै मेटाउन खोज्नु हो । तसर्थ यी दुईवटा अति नै ऐतिहासिक महत्व बोकेका स्मारकलाई हामीले वास्तुकला संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुसँग सरसल्लाह गरी सकेसम्म प्रवलीकरण गरी बचाउनु सबै दृष्टिकोणले राम्रो हुने देखिन्छ ।
कुनै पनि ऐतिहासिक स्मारकको बनोटलाई भूकम्प प्रतिरोधक बनाउने कुरामा विशेषज्ञहरुमा फरकफरक मत छन् । यस विषय राम्ररी अध्ययन, अनुसन्धान गरी विशेषज्ञहरु निर्णयमा पुग्न सकेका छैनन् । यसै विषय र समस्यालाई लिएर सन् १९८६ अगस्ट २५ देखि सेप्टेम्बर १२ तारिखसम्म मेक्सिको शहरमा एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी भएको थियो । उक्त गोष्ठीले ऐतिहासिक स्मारकहरुको निर्माण सामग्री र बनोटको अवस्था साधारण अवस्थामा र भूकम्पको अवस्थामा कस्तो हुन्छ भन्नेबारे राम्ररी अध्ययन हुन सकेको छैन, साथै त्यस्ता स्मारकहरुमा भूकम्पको जोखिमबारेको ज्ञान पर्याप्त नहुनुका साथै केही मात्रामा भएका ज्ञानको प्रचारप्रसार र प्रयोग पनि चाहिँदो मात्रामा भएको छैन भनी निष्कर्ष निकालेका थिए । उक्त कार्यशाला गोष्ठीले केही सुझाव पनि दिएको थियो । जसमध्ये प्राविधिक क्षेत्रतर्फ भूकम्प जोखिम क्षेत्रका स्मारक वा सम्पदा भवनको सांस्कृतिक महत्व दर्साइएका र ती स्मारकमाथि भूकम्पको के÷कति जोखिम छ भन्ने कुरा राम्ररी खुलाई विवरणहरु तयार गर्नुपर्ने साथै यस क्षेत्रमा काम गर्ने प्राविधिकलाई आवश्यक मात्रामा तालिम दिइनुपर्छ र व्यवस्थित ढंगबाट नयाँ आधुनिक निर्माण शैली र सामग्रीले परम्परागत सामग्री र प्रविधिबाट निर्माण गरिएका स्मारकमा भूकम्पले के÷कस्तो असर पर्न सक्छ भनी वैज्ञानिक ढंगबाट प्रमाणित गरिनुपर्छ भन्ने थियो । यस किसिमको खोजबिन र अनुभव एकले अर्कोसँग अर्थात् एक देशले अर्को देशसँग आदान–प्रदान गर्ने एउटा स्थायी व्यवस्था पनि हुनुपर्छ भनी सुझाव दिइएको छ ।
तसर्थ भूकम्पले हानि नोक्सानी पु¥याएका स्मारकहरुको भविष्य अझै अन्यौलमा नै छन् । पूर्णतया जगैंसम्म भत्केका स्मारकका हकमा ती स्मारकका पुनर्निर्माण नगरी अर्को कुनै उपाय नै छैन । तर स्मारक भने ज्युका त्युँ खडा नै छ, ठाउँठाउँमा भत्के÷चर्केको मात्र छ भने त्यस्ता स्मारकको हकमा त्यस देशको प्रचलित कानुन, त्यो भवनको ऐतिहासिक र सौन्दर्यको महत्वलाई ध्यानमा राखी त्यस्ता स्मारकलाई सकेसम्म प्रवलीकरण गरी बचाउनुमा नै राष्ट्रको गौरव रहिरहन्छ भन्नेमा दुई मत नहोला ।