फ्लडलाइटको उज्यालोमा मुस्कानसहित कावा मेयर डंगोलले भन्नुभयो– पीएल सिंहको सम्झनामा टी–२० कप गर्ने सपना पूरा भयो

काठमाडौं, १४, असार । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण फ्लडलाइटमा गरेको थियो । गत मंसिर १ देखि सुरु भएको क्रिकेटको दोस्रो संस्करणको उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले खेलेका थिए । त्यसपछि एनपीएल क्रिकेटको दोस्रो संस्करणका धेरै खेल फ्लडलाइटमै भए । त्यसपछि भने फ्लडलाइटमा खेल्ने अवसर पीएल सिंह मेमोरियल टी–२० कप २०२६ लाई प्राप्त भएको छ ।

शनिबार मध्यरातको वरिपरि पनि त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटको उज्यालोले दिउँसो जस्तै थियो । त्यहि उज्यालोमा पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिका च्याम्पियन बन्ने दौडका मैदानमा प्रयासरत थिए । त्यहि मैदानमा काठमाडौं महानगरपालिकाको अगुवाइमा पहिलो पटक भएको काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०२६ को उपाधि उचाल्ने अवसर काठमाडौं महानगरलाई नै प्राप्त भयो ।

फाइनलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बन्दा मैदानमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्कालगायत मैदानमा हुनुहुन्थ्यो । खड्का फ्लडलाइटमा पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण गर्दा जति उत्साहित हुनुहुन्थ्यो त्यसैगरी त्यहि फ्लडलाइटमा पहिलो पटक काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०२६ गर्न पाउँदा उत्साहित हुनुहुन्थ्यो । त्यो खुशी उहाँले काठमाडौं महानगर र पोखरा महानगरविचको फाइन खेलपछिको पुरस्कार वितरण कार्यक्रममा सम्वोधनका क्रममा पनि व्यक्त गर्नुभयो । उहाँले एनपीएलको दोस्रो संस्करणपछि पहिलो पटक काठमाडौं र पोखरविचको फाइन खेल फ्लडलाइटमा त्रिवि क्रिकेट रंगशालामा गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यसो त काठमाडौं महानगरपालिकाले पहिलो संस्करण पीएल सिंह मेमोरियल टी–२० कप २०२६ गर्न सफल भएकोमा कार्यवाहक मेयर डंगोलको मुहारमा पनि खुशी छाएको थियो । उहाँले पनि फ्लडलाइटको उज्यालोले अझ उज्यालो देखिएको अनुहार मुस्कानसहित काठमाडौं महानगरपालिको स्थापना गर्ने मेयर सिंहको सम्झनामा नेपालको गौरव बनेर बसेको क्रिकेट मैदानमा फ्लडलाइटको उज्यालोमा फाइन खेल सम्मन्न गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘पीएल सिंह धेरै सुनेको नाम हो । यद्यपि, हाम्रो र पछिल्लो पुस्ताले नाम सुने पनि उहाँबारे धेरै जानकारी नहुन सक्छ । मैले उहाँलाई व्यक्तिगत रुमा दुई पटक मात्रै भेट्न पाएको थिएँ । उहाँ हामीले सम्झिरहनु पर्ने नाम पनि किन हो भने उहाँकै पालामा काठमाडौं महानगरपालिका घोषणा भएको हो,’ डंगोलले भन्नुभयो, ‘उहाँले कहिल्यै यो मेरो, यो तेरो होइन काठमाडौं महानगरपालिकाको जित हुनुपर्छ है भनेर काम गर्नुहुन्थ्यो भन्ने कुरा उहाँसँग काम गरेका जनप्रतिनिधिहरुले अहिले पनि भन्ने गर्नुहुन्छ । त्यसैले उहाँले काठमाडौं महानगरपालिकालाई दिनुभएको योगदानको स्मरण गर्दै सिंह मेमोरियल टी–२० कप २०२६ आयोजना गरेका हौँ ।’

उहाँले सिंहको सम्झनाका क्रिकेट कप गर्न पाउँदा उत्तसाहित भएको उल्लेख गर्नुभयो । ‘उहाँको सम्झनामा क्रिकेट कप गर्ने सपना अहिलेसम्म पूरा भएको थिएन । यो पटक यो खेल यो मैदानमा गर्ने मौका पायौँ र हाम्रो सपना पनि पूरा भएको अनुभूति भएको छ । यो महानगरपालिकाले मात्रै गरेको भए यति सफल हुने थिएन’ उहाँले भन्नुभयो, ‘त्यसको प्राविधिक पाटोका रुपमा बागमती प्रदेश क्रिकेट संघ सँगको सहकार्यले धेरै सजिलो भयो ।’

उहाँले महानगरपालिकाले खेल र शिक्षालाई सँगसँगै लग्नुपर्छ भनेर लागि परेको भन्दै सानैदेखि बालबालिकाले पढ्ने अवसर पाउनुपर्छ भने उनीहरुले खेल्ने अवसर पनि पाउनुपर्छ भनेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । ‘खेल भनेको एउटा यस्तो सुत्र हो जस्ले जुनसकै दर्शनका मानिसलाई पनि जोड्छ । हामी अन्तराष्ट्रियस्तरमा नेपाली खेलाडीले नेपाली झण्डा फहराउँदा खुशी हुन्छौँ । त्यसका लागि हामील सबै भन्दा पहिला खेलका लागि वातावरण बनाउनुपर्छ र त्यसका लागि तीन वटै तहको जिम्मेवारी छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले त्यहि जिम्मेवारीबोध गर्दै कर्तव्य ठानेर आज यो गर्न सफल भएका छौँ । यो त्यसैको एउटा उदाहरण पनि हो । यो खेलकुदको विकासका लागि हामीले बहन गरेको जिम्मेवारी पनि हो ।’

उहाँले यो पटक अन्तरमहानगरपालिका खेल गरे पनि अब अन्तर महानगरपालिकामा मात्रै सिमित नरहने भन्दै अर्को वर्ष धेरै भन्दा धेरै खेलाडीलाई खेलाएर उनीहरुको वृद्धि विकासमा महानगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर ले काठमाडौं महानगरपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै अन्य पालिकाले पनि आगामी दिनमा यस्ता खेलमार्फत खेलाडीको वृद्धिविकासमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवंकाठमाडौं महानगरपालिका वडा–१० का अध्यक्ष रामकुमार केसीले पनि योसँगै अन्य खेलमार्फत खेलाडीको वृद्धि विकासमा लागि रहेको उल्लेख गर्नुभयो ।