साताभरमा ९० अंकले घट्यो शेयर बजार

काठमाडौं, १४ माघ
शेयर बजारमा यो साता उच्च गिरावट आएको छ । विगत देखि नै घट्दै आएको बजारमा यो सातामात्र ९० अंकले गिरावट आएको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९३६० कारोबारबाट दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १४७८५ कारोबारबाट एक अर्ब ८५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरका एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९०.७ अंकले घटेर अन्तिम दिन १३७५.१४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९.७५ अंकले घटेर २९८.४८ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (३६ करोड ३० लाख ८० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१८ लाख ५६ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१६५० वटा) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।