ट्रम्पको शरणार्थीमाथि प्रतिबन्ध लगाउने निर्णयको सर्वत्र विरोध, सहयोग नगरेको भन्दै महान्यायाधिवक्ता बर्खास्त

अमेरिका । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको दोस्रो हप्ता आरम्भ हुंदा उहाँको एउटा महत्वपूर्ण नीतिगत निर्णयप्रति विरोध प्रदर्शन जारी छ।
सातवटा मुसलमान बाहुल्य देशका वासिन्दालाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्धको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन्।
तर अमेरिकी प्रशासनले भने त्यस्तो प्रतिबन्ध लगाउने निर्णयको बचाउ गरेको छ।
राष्ट्रपति ट्रम्पले गत शुक्रबार हस्ताक्षर गरेको आदेशले १२० दिनका लागि समग्र अमेरिकी शरणार्थी कार्यक्रमलाई स्थगित गरिदिएको छ, सिरियाली शरणार्थीहरुमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ र सात मुसलमान बाहुल्य देशका सबै नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाइदिएको छ।
अध्यादेश जारी हुँदा उडिरहेको विमानमा रहेकाहरुलाई तिनीहरुसँग वैध अमेरिकी प्रवेशाज्ञा र अन्य आप्रवसन अनुमतिपत्र हुंदाहुंदै पनि विमान अवतरण गर्ने बित्तिकै हिरासतमा लिइएको थियो।
अमेरिका जाने विमान चढ्न लागेका कतिजनालाई अन्य विदेशी विमानस्थलहरुबाटै फिर्ता पठाइयो भन्ने थाहा हुन सकेको छैन।
मुसलमान बाहुल्य भएका सातवटा राष्ट्रका वासिन्दालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयको विरोधमा अदालती आदेश र ठूलो विरोध प्रदर्शनहरु भएता पनि ट्रम्प प्रशासन त्यस्तो कार्यकारी आदेशको पक्षमा अडिग रहेको छ।
एउटा वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको छ , नीतिहरु लागू भइसकेपछि फेरि ती प्रतिबन्धित नागरिकहरुको हकमा नयां प्रवेशाज्ञा जारी गरिनेछन्।
तर यो नयां आदेश मुसलमानहरुविरुद्ध लगाइएको प्रतिबन्ध भने नभएकोमा उहाँको जोड थियो।
कतिपय मुलुकका शरणार्थीहरुमाथि प्रतिवन्ध लगाउने आफ्नो कदमको वैधानिकतामाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बर्खास्त गर्नुभएको छ।
ट्रम्पका पूर्ववर्ती बराक ओबामाको पालोमा नियुक्ति पाएकी स्याली एट्सले राष्ट्रपतिको कार्यकारी आदेश कार्यान्वयन नगर्न न्याय मन्त्रालयका वकीलहरुलाई आग्रह गर्नुभएको थियो।
एउटा वक्तव्यमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एट्समाथि ुधोका दिएकोु आरोप लगाएको छ।
एट्सको स्थानमा ड्याना बोयन्टे नियुक्त हुनुभएको छ।