ताप्लेजुङ अस्पतालमा सिटामोलको समेत अभाव

ताप्लेजुङ। पूर्वीनेपालको जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरेपनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको अस्पताल स्रोतले राससलाई बताएको छ।

Taplejung District Hospital

हाल अस्पतालमा मेट्रो, सिटामोलजस्ता अति आवश्यक औषधिकै अभाव भएको छ। अस्पतालमै औषधि नभएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि औषधि प्रदान गर्न नसकिएको बताइएको छ ।

केन्द्रबाट प्राप्त हुने औषधि पाँच महिनादेखि नआएपछि जिल्लास्तरबाट नै खरिद गरिएका ३३ प्रकारका औषधि पनि सकिन लागेको जनाइएको छ । थप औषधि खरिदका लागि खरिद आदेश लिनुपर्ने भएकाले थप समस्या देखिएको छ ।

ग्रामीण क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा औषधि नपाउँदा स्थानीय मारमा परेका छन् भने जिल्ला अस्पताल भित्रै औषधि नपाएपछि बाहिर किन्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो छ ।

सरकारले जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि प्रदान गर्दै आएको छ ।
प्रकाशन मिति–२०७३ साल माघ १९ गते बुधवार ।