उत्तर कोरियाली नेता किम जोन उनका दाइको क्वालालम्पुरमा रहस्यमय ढंगले हत्या

 

मलेसिया । उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाइको क्वालालम्पुरमा रहस्यमय ढंगले हत्या गरिएको छ ।
४५ वर्षीय किम जोङ नामलाई मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थलमा निशाना बनाइएको बताइएको छ।
मलेसियाली प्रधानमन्त्रीको कार्यालय निकट एकजना श्रोतले किम त्यही शहरमा मारिएको बीबीसीलाई बताउँदै अहिले उनको शवको जाँचबुझ भइरहेको बताएका छन्।
किम जोङ नाम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन्।
मलेसियाका एकजना वरिष्ठ प्रहरी अधिकारीले विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नामको हत्या भएको पुष्टि गरेका छन्।
दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाप र रोयटर्स समाचार संस्थाले दक्षिण कोरियाली सरकारी भनाइ उद्घृत गर्दै किमको मृत्यु भएको खबर प्रकाशित गरेका छन्।
कस्तो परिस्थितिमा उनको मृत्यु भो भन्ने स्पष्ट भैसकेको छैन तर दक्षिण कोरियाको केबल टेलिभिजन नेटवर्क चोसुनले किमलाई विमानस्थलमा दुईजना महिलाले विष प्रयोग गरेर हत्या गरेको जनाएको छ।
सन् २००१ मा किमले नक्कली राहदानीको प्रयोग गरेर जापान प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका थिए।
कुनै समयमा किम जोङ इलका सम्भाव्य उत्तराधिकारी ठानिएका किमको त्यो घटनापछि बुवासंग सम्बन्ध बिग्रिएको बताइएको छ।
कान्छा भाइलाई किम जोङ उन उत्तराधिकारी बनाइएपछि किम जोङ नाम सार्वजनिक रुपमा धेरै देखिंदैनथे र प्रायः समय मकाउ लगायतका विदेशी स्थलमा बिताउँथे।