आईजीपी प्रकरणमा सर्वोच्चमा सुनुवाइ,दुई दर्जन वकिलले बहस गर्दै

 

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको सर्वोच्च अदालतमा आज फेरि सुनुवाइ सुरु भएको छ ।
आजको सुनुवाई यसअघि एकल इजलाशले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर दिने कि नदिने भन्नेमा केन्द्रित हुने सर्वोच्च अदालतले जनाएको छ । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । वरियताक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पाखा लगाउँदै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आईजीपी बनाउने निर्णय गरेको भन्दै ढकालले रिट दायर गरेका थिए । सर्वोच्चले दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो ।
आइतबारको बहसमा सरकारी निर्णयको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता रमन श्रेष्ठ लगायत वरिष्ठ सरकारी वकिलहरु र केही अधिवक्ताहरुले पनि बहस गर्दै छन् भने दुई निवेदकका तर्फबाट करिब २५ जनाले वकालतनामा गराएका छन् ।