रुपन्देहीको मर्चवार तनावग्रस्त, सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीको लङ ब्यारेल गन लुटियो

maitrinews

रुपन्देही । रुपन्देहीको मर्चवार क्षेत्र आज पनि तनावग्रस्त बनेको छ । त्यहाँ आज पनि झडप भएको छ । विखण्डनकारी आन्दोलनमा लागेका सीके राउतका समर्थकले रुपन्देही मर्चवारस्थित ओड‌ओडिया प्रहरी चौकीबाट एकथान हतियार लुटेका छन् ।
राष्ट्र विखण्डनको माग गर्दै आएका राउत समर्थक र प्रहरीबीच भएको ढुंगा हानाहानका क्रममा आइतबार दिउँसो लङ ब्यारेल गन लुटिएको हो । झडपका क्रममा तीनजना प्रहरी र एक व्यक्ति घाइते भएका छन् । घाइते मगरु नामका व्यक्ति सर्वसाधरण हुन् वा राउत समर्थक हुन् खुलेको छैन । प्रहरीले पाँच राउण्ड हवाई फायर, पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

लुटिएको हतियार खोज्न प्रहरीले त्यस क्षेत्रमा व्याक सर्च अभियान जारी राखेको प्रहरीले जनाएको छ ।

सीके राउतलाई पक्राउ गरेको विरोधमा शनिबारदेखि नै सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र शनिबार दिनभर तनावग्रस्त बनेको थियो । राउत समर्थक १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । एक ट्रकमा आगजनी गरिएको थियो ।