बजेटरी खर्चको अवस्थामा सुधार भएन

maitrinews

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिना समय वितिसक्दापनि बजेटरी खर्चको अवस्थामा भने सुधार आउन सकेको छैन । खर्चको अवस्थमा सुधार आउन नसकेका कारण अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पर्न थालेपछि यसले सरकारलाई नै चिन्तित तुल्याएको छ ।
बजेटको मध्यावधि समिक्षा सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले खर्च बृद्धिमा समेत आगामी दिन जोड दिने बताए । मौसमका अलावा बिउ र बिजन उपलब्धता, विद्युत आपूर्ति, निर्माण सामाग्रीको माग बढेको लगायत कारणले आर्थिक बृद्धिदर लक्ष्य बमोजिम हुने उनले दावी गरे ।
सरकारी तथ्याङक अनुसार पुष मसान्तसम्म सरकारले दुई खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँ मात्र खर्च गरेको छ । जुन चालु आर्थिक बर्षको लक्ष्यको २६.१९ प्रतिशत मात्र हो । त्यसमध्ये चालु खर्च दुई खर्ब १८ अर्ब ६० करोड रुपैयाँ भएको छ । पूँजीगत खर्च ३५ अर्ब २५ करोड रुपैयाँ मात्र भएको हो। छ महिनाको खर्च निराशाजनक रहेपछि सरकारले लक्ष्य समेत संसोधन गरेको छ ।
कुल नौ खर्व ३५ अर्ब ८८ करोड (बजेटको ८९.२२ प्रतिशत) खर्च गर्ने संसोधित लक्ष्य सरकारले लिएको हो । चालु आर्थिक बर्षको बजेटमा बिनियोजित रकम मध्ये चालु खर्च ९१ प्रतिशत र पूँजीगत खर्च ८४ प्रतिशत मात्र हुने हासिल हुन सक्ने प्रक्षेपण सरकाले गरेको हो ।
धेरै पूँजीगत खर्च बिनियोजन भएका भौतिक पूर्वाधार, सहरी विकास, सिंचाई र स्वास्थ्य मन्त्रालयले छ महिनामा लक्ष्यको क्रमशः १८.४५, ८.५६, १९.०८ र २०.६ प्रतिशत मात्र खर्च गरेको मन्त्री महराले जानकारी दिए। आर्थिक बर्षको बाँकी अवधिमा यी मन्त्रालयको पूँजीगत खर्च बढाएर समग्र बजेटको पूँजीगत खर्च बृद्धि गर्ने उनको भनाइ थियो ।
छ महिनाको खर्च लक्ष्यको तुलनामा न्यून रहे पनि आगामी दिनमा तिब्रता दिन प्रष्ट निर्देशन दिएको र त्यही अनुरुप ठूला आयोजनाको अनुगमनमा प्रधानमन्त्री कार्यालय नै सक्रिय भएको हुँदा आगामी दिन पूँजीगत खर्च बढ्ने मन्त्री महराले बताए । चालु आर्थिक बर्ष सुरु हुन भन्दा ४५ दिन अघि नै बजेट आएको थियो। संवैधानिक प्रावधान अनुसार पहिलो पटक जेठ १५ गते बजेट सार्वजनिक गरिएको हो । सरकारले चालु आर्थिक बर्षको पहिलो छ महिनामा लक्ष्यको तुलनामा झन्डै १०८ प्रतिशतले राजश्व उठाउन सफल भएपनि मूल्यबृद्धि कर (भ्याट) मा देखिएको गिरावटले सरकारलाई चिन्ता थपिएको छ ।
पुषसम्ममा दुई खर्व ७७ अर्ब ५७ करोड रुपैयाँ राजश्व संकलन भएको हो। यो रकमले छ महिनाको लक्ष्य नाघ्नुका साथै बार्षिक लक्ष्यको ४९ प्रतिशत हो। तर, यो अवधिमा राजश्वको मेरुदण्ड मानिएको भ्याट भने लक्ष्यको दुई अर्ब रुपैयाँ कम संकलन भएको छ। पुष सम्ममा भ्याट ७६ अर्ब ९५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो। तर, ७४ अर्ब ७५ करोड रुपैयाँ मात्र संकलन भएको हो ।
भ्याट नेपालको कर प्रणालीकै मेरुदण्ड रहेको कारण आन्तरिक राजश्व विभागकालाई बजार अनुगमनमा तिब्रता दिन निर्देशन दिएको अर्थ सचिव शान्तराज सुवेदीले बताए ।
छ महिनामा भ्याट लक्ष्य बमोजिम नउठेपछि सरकारले यसको बार्षिक लक्ष्य नै संसोधन गरेको छ। सुरुमा एक खर्व ६४ अर्ब ७२ करोड रुपैयाँ भ्याट संकलनको लक्ष्य लिएकोमा सरकाले संशोधन गरेर एक खर्व ४५ अर्ब २६ करोड रुपैयाँमा झारेको छ ।