महिला तथा बालबालिका मन्त्रीको महत्वकांक्षी योजनाः पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार सरकारले गर्ने

maitrinews

काठमाडौँ । अब महिलाहरुले पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नहुने भएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार खर्च सबै सरकाले नै व्यहोर्ने व्यवस्था गरेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले पत्रकार सम्मेलन नै गरेर महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गर्नुभयो । उहाँले मन्त्रालयमै पत्रकार सम्मेलन गरी यस्तो घोषणा गर्नु भएको हो । उहाँले पत्रकार सम्मेलन गर्दै त्यसका लागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको जानकारी दिनुभयो । ‘नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निशुल्क गरेपछि धेरै महिलाले राहत पाउने छन्,’ मन्त्री खड्काले भन्नुभयो् ।
त्यसैगरी उहाँले देशका कुनै पनि ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पुनःस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी पनि दिनुभयो ।
मन्त्रालयले प्रत्येक जिल्लामा बालिबालिकाका लागि खेलकुल, मनोञ्जन र शारीरिक अभ्यासको व्यवस्थासमित बाल उद्यान स्थापना गर्ने तयारी गरेको छ। ‘आगामी आर्थिक वर्षमा २१ वटा र यही आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य लिएका छौं,’ मन्त्री खड्काले भन्नुभयो, ‘प्रत्येक जिल्लामा जेष्ठ नागरिकका लागि बृद्धाश्रमको निर्माण गर्ने लक्ष्य अनुसार आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशमा १ वटाको दरले नमूना सशुल्क बृद्धाश्रम निर्माण गरिनेछ।’
मुलुकका सबै स्थानीय तहमा कम्तिमा एउटा बृद्धाश्रम रहनेगरी आगामी आर्थिक वर्षमा मुलुकभर ४ सय ९० बृद्धाश्रम खोलिने पनि मन्त्री खड्काले जानकारी दिनुभयो
त्यसैगरी उहाँले सार्वजनिक गरेको योजनामा प्रत्येक सन्तानले आफ्नो कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने छ। आफ्ना सन्तालाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन मन्त्रालयले आफ्नो कमाइको दश प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिनुभयो ।
फागुन १७ गते ।