जोमसोमस्थित प्रदेश अस्पताल जाने सडकमा अवरोध: एम्बुलेन्स चल्न नसक्दा सेवाग्राही मर्कामा

मुस्ताङ, ११ जेठ । मुस्ताङको सदरमुकाम जोमसोमस्थित एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने पहुँच मार्ग असहज हुँदा बिरामी र सेवाग्राहीले ठूलो सास्ती खेप्नुपरेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा मुख्य राजमार्गलाई ‘ग्रेड डाउन’ (सतह घटाउने) गरेपछि अस्पताल जाने बाटो बिग्रिएको हो ।

सडकको सतह घटाउँदा अस्पताल जाने सहायक मार्ग र राजमार्गबीचको सम्पर्क विच्छेद जस्तै भएको छ । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार सडकको दुरावस्थाका कारण अस्पतालसम्म एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन पुग्न सकेका छैनन् । “बाटो नभएपछि गम्भीर अवस्थाका बिरामीलाई अस्पतालभित्र लैजान र बाहिर ल्याउन निकै कठिनाइ भइरहेको छ,” डा. कँडेलले भन्नुभयो ।

अस्पतालसम्मको पहुँच सहज बनाउन हालसम्म तीनवटा विकल्प अघि सारिएको छ:
१. मुख्य राजमार्गको सतह उकासेर अस्पतालको बाटो बराबर बनाउने ।
२. आयोजनाको नक्साअनुसार निजी घरको अगाडिबाट नयाँ बाटो लैजाने ।
३. हाल प्रयोगमा रहेको सडकलाई नै फराकिलो बनाएर ग्रेड मिलाउने ।

यी विकल्पहरूमाथि छलफल गर्न स्थानीय प्रशासन, घरपझोङ गाउँपालिका, सडक आयोजना र अस्पताल व्यवस्थापन समितिबीच पटक–पटक वार्ता र संवाद भए पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।

सरोकारवाला निकायबीचको समन्वय अभाव र प्राविधिक उल्झनका कारण अस्पताल जस्तो संवेदनशील क्षेत्रको बाटो अलपत्र पर्दा मुस्ताङवासी र यहाँ घुम्न आउने पर्यटकहरू आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने जोखिम बढेको छ । अस्पताल प्रशासनले तत्काल अस्थायी रूपमै भए पनि एम्बुलेन्स चल्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।