मुख्यसचिव सुवेदी पैसाका लागि एडीबीको बैकल्पिक कार्यकारी निर्देशक भएर जाने

maitrinews

 

Somlal-Subedi

काठमाडौ। मुख्यसचिव डा.सोमलाल सुवेदी एक वर्ष पदावधि बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक भएर जाने भएका छन् । नेपालले पाउन लागेको उक्त पदमा सुवेदीलाई मनोनयन गर्ने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । तीनबर्से पदावधि हुने मुख्यसचिवमा सुवेदीको पदावधि २०७६ साउनसम्म रहेको छ। आकर्षक तलब÷सुविधा हुने एडीबीको पदका लागि डा.सुवेदीले मुख्यसचिवको जिम्मेवारी एक वर्षअघि नै टुंग्याउन चाहेका हुन्।

उक्त पदका लागि सामान्यतया सहसचिव तहका कर्मचारी मनोनयन गरिन्छ। समाचार स्रोतका अनुसार फिलिपिन्सको मनिलास्थित हेड अफिसमा दुई वर्षको कार्यकाल हुने उक्त पदमा महिनामा करिब १८ हजार डलर तलब हुन्छ।

मुख्यसचिव निकट स्रोतका अनुसार उनी ‘मुख्यसचिव भइहालियो, पैसा पनि त चाहियो निु भन्दै उक्त पदमा मनोनयन गराउन लागिपरेका थिए। यसअघि नेपालका तर्फबाट उक्त पदमा रहेका डा. गोविन्दबहादुर थापा कार्यकाल सिध्याएर फर्केको ७ वर्षपछि नेपालले मनोनयनको मौका पाएको थियो।

एडीबीले मनोनयनका लागि अनुरोध गर्नासाथ सहसचिव र सचिव रहेका थुप्रैले दौडधूप सुरु गरेका थिए । तर सुवेदीले जान इच्छा देखाएपछि सरकारले उनलाई मनोनयन गरिदिएको हो। एडीबीको जिम्मेवारी समाल्न जानुअघिसम्म डा.सुवेदी मुख्यसचिव पदमै रहन्छन् वा अघि नै छाड्नुपर्छ, स्पष्ट भइसकेको छैन।

साउनसम्म डा.सुवेदी पदमा नरहेमा मुख्यसचिवका लागि अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रमुख दाबेदार हुनेछन् ।
प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।