नेपाली समाजलाई एकताबद्ध हुन नदिन षडयन्त्र भइरहेको छ : ओली

 
उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उदघाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पु¥याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।