विकिलिक्सव्दारा अमेरिकी गुप्तचर संस्थाका हजारौँ गोप्य कागजात प्रकाशित

 

अमेरिका । विकिलिक्सले, अमेरिकाको केन्द्रिय गुप्तचर संस्था सिआइएले अनधिकृत रुपमा सूचनामा पहुँच पुर्याउने उपायहरु खुलासा गर्ने भनिएका हजारौं गोप्य कागजातहरु प्रकाशित गरेको छ।
स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले स्मार्ट फोन र कम्प्युटरहरुबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने सफ्टवेयरको विवरण दिन्छ।
सिआइएका प्रवक्ताले उक्त कागजातमा उल्लेखित सामग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन्।

मालवेर भनिने ती उपायहरुमार्फत विन्डोज, एन्ड्रोयड, आइओएस, ओएसएक्स र लिनक्स कम्प्यूटर प्रणाली तथा इन्टरनेट राउटरहरुबाट गोप्य विवरण लिने गरिएको बताइएको छ।
केही सफ्टवेयरहरु सीआइएले आफैं बनाएको थियो भने स्यामसंग टिभी प्रणालीलाई निशाना पार्ने गरी ब्रिटेनको एमआइफाइभ संस्थाले खुफिया सफ्टवेयर निर्माण गरेको बताइएको छ।
सिआइले स्यामसंगको स्मार्ट टिभिलाई लक्षित व्यक्तिका कुराकानी सुन्नका निम्ति प्रयोग गर्न मिल्ने बनाउन भनेर ब्रिटेनको गुप्तचर संस्थासँग काम गरेको बताइन्छ।
ब्रिटेनको गृहमन्त्रालयका अधिकारीले त्यसबारे प्रतिक्रिया जनाउन नसक्ने बताएका छन्।

फागुन २५ गते ।