आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने निश्चित : खनाल

 

कपिलवस्तु । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आज कपिलवस्तुको जीतपुरमा भव्य कार्यक्रम सम्पन्न भएको छ । फागुन २१ गतेबाट सुरु भएको अभियानको केन्द्रीय टोली जीतपुरस्थित सिद्धार्थ क्याम्पसको प्रांगडमा आइपुग्दा ठूलो समूहले स्वागत गरेको थियो ।
हिजो भैरहवाको कार्यक्रम सकेर बुटवल आइपुगेको टोली पश्चिमतिर बढ्दा बाटोमा आआफ्नो घर आँगनबाट जनताले स्वागत गरेका थिए । बेलबास, तामनगर, नयाँ गाउँ, मुर्गिया, रामापुर, बाँसगडढी, सालझण्डी, पिपरा, बैरिया, चार नम्बर लगायतका ठाउँमा होली मनाउँदै टोलीलाई साथ दिन जनता सडकमा निस्किएका थिए ।
रामापुरस्थित शहीद नारायण पोखरेल क्याम्पसको प्रांगडमा अभियानको टोलीलाई सामूहिक खानाको व्यवस्था गरिएको थियो । त्यहीँ आपसमा नेता–कार्यकर्ताले आपसमा होली मनाएका थिए ।
सोही स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो पार्टीका रुपमा स्थापित हुने निश्चित भएको र यसलाई कसैले रोक्न नसक्न्े भएका कारण त्यही त्रासबाट केही मुठ्ठीभरका तत्वले मधेसमा एमालेको कार्यक्रम भाँड्ने कोसिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर त्यसबाट हाम्रो पार्टी विचलित हुँदैन, बरु त्यसलाई ऊर्जाका रुपमा त्यसलाई लिनेछ ।’
जीतपुरमा त्यस क्षेत्रमा आयोजित अहिलेसम्मकै सबभन्दा विशाल सभामा बोल्दै महासचिव ईश्वर पोखरेलले एमालेले अगुवाइ गरेर पनि मेची–महाकाली अभियान सिंगो राष्ट्रको अभियान भएकाले आमजनताले उत्साहजनक सहभागिता जनाएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयोः
सामाजिक सद्भाव र साम्प्रदायिक एकता खल्बल्याउन चाहनेहरु सल्बलाउँदैछन्, हाम्रो एकताको बलमा तिनीहरुलाई जवाफ दिनुपर्छ । सामाजिक सद्भावमा टिकेको राष्टिय एकतालाई कमजोर बनाउने कुनै पनि आपराधिक योजना सफल हुने दिने छैनौँ ।
नेपाली जनताका ९० प्रतिशतभन्दा ज्यादा बढी जनप्रतिधिहरुले हस्ताक्षर गरेर संविधान जारी गरे । त्यसबेला हाम्रा केही छिमेकी हामीलाई आँखा तर्दै थिए । तर, हामीले खुट्टा कमाएनौँ र विगत ६० वर्षदेखि नेपाली जनताले उठाएको आवाजलाई हामीले पूरा गर्यौँ । अहिले त्यही कुरा कतिपयलाई अपच भएको छ । संविधान बनाइरहेको बेला हामीलाई संविधान बनाउन पाउँदैनौ भनेर आँखा तर्ने, धम्की दिने र दवाव दिनेहरु नै अहिले संविधान असफल बनाउन लागेका छन् । हामी उनीहरुको त्यो सपना कदापि पूरा हुन दिने छैनौँ ।
नेपालको संविधान बनाउने काम छिमेकीको होइन, नेपाली जनताको हो भनेर जसरी हिजो हामीले जवाफ दियौँ र विदेशीको कुनै दाल गलेन, त्यसरी आज उनीहरुको संशोधनको योजनालाई पनि हामी जवाफ दिन्छौँ, असफल पार्छौं । उनीहरुको कोसिसमा देशभित्र रहेका केही मुठ्ठीभर तत्वहरु संविधान च्यात्ने र जलाउनेहरु लागिरहेका छन् । तर, त्यस्तो दूस्साहस गर्नेहरुलाई नेपाली जनताले एकताबद्ध भएर जवाफ दिनुपर्छ ।
एमाले आफ्ना विचार लिएर तराई, पहाड, हिमाल सबैतिर जान्छ, यो संविधानले हामीलाई दिएको अधिकार हो । कसैले त्यसलाई कटौती गर्न खोज्यो भने एमाले किमार्थ स्वीकार गर्दैन । तराई मधेसका जनता एमालेको पक्षमा उभिएको देखेपछि मधेसवादी दावी गर्ने दलहरु आतंकित भएर आक्रमणमा उत्रिए ।
एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पार्टी होइन, समग्र मुलुकको पार्टी हो । त्यसकारण यसले सबैको प्रतिनिधित्व गर्दछ ।
एमालेले मधेसलाई समेटेन, संविधान संशोधन गरिदिए हुन्थ्यो भन्ने गरिन्छ । हामी संविधान संशोधनको विपक्षमा छैनौँ, यो गतिशील दस्तावेज हो । तर, यो औचित्यपूर्ण हुनुपर्छ । अहिले संविधान संशोधनका नाममा नेपाललाई कमजोर पार्न खोजिँदैछ । नेपाली र मातृभाषालाई कमजोर बनाएर अर्कैको देशको भाषालाई संविधानमा घुसाउनु नेपाल र नेपालीको हितमा छ ? मैथिली, बज्जिका, अवधि, राई, तामाङ, थारु भाषाका लागि होइन, हिन्दी भाषाका लागि संशोधन ल्याएर विदेशी भाषालाई सरकारी कामकाजको भाषा बनाउन कुनै हालतमा बन्न दिन्नौँ ।
नागरिकताका विषयमा भ्रम छर्न खोजिएको छ । धनपति उपाध्यायको अध्यक्षतामा आयोग बनाएर यो समस्या सम्बोधन पहिलो पटक हामीले नै गरेका हौँ । कुनै एकजना नेपालीले पनि नागरिकता पाएन भने हामी त्यसको जिम्मा लिन्छौँ तर एकजना पनि विदेशीलाई नागरिकता दिन दिँदैनौँ । संसारका कुनै पनि मुलुकमा नेपालमा जस्तो नागरिकता प्रदान गर्ने उदार व्यवस्था छैन । त्यही भारतमा विहे गरेर जाने नेपाली चेलीले सात वर्ष कुर्नुपर्छ, पाकिस्तानमा पाँच वर्ष, बंगलादेशमा २ वर्ष, भुटानमा विहापछि सन्तान जन्मेर उसले नागरिकता पाउनुपर्छ, माल्दिभ्समा त्यहाँको धर्म स्वीकार गर्नुपर्छ । तर, नेपालमा चाहिँ विहे गरेर आउने महिलाले २४ घण्टाभित्र नागरिकता पाउँछिन् । के अझै पुगेन ? अंगीकृत नागरिकलाई राज्य चलाउन दिन्नौँ, प्रमुख पदमा बस्न पाउँदैन । एमालेले मात्रै उठाएको कुरा होइन, संसारभर यस्तो अभ्यास छ । यो अभ्यास हामीले गर्दा हाम्रो छिमेकीको टाउको किन दुख्यो ?
संसद्मा प्रतिनिधित्व बखेडा खडा गरेर हिमाली र पहाडी क्षेत्रलाई रित्तो बनाउने योजना बन्दैछ । हामी भूगोल र जनसंख्यालाई समान रुपमा हेर्न चाहन्छौँ, भूगोललाई छाडेर जनसंख्या मात्र भन्ने पक्षमा छैनौँ । त्यही भारतमा पाण्डुचेरीमा ५० हजार जनसंख्याको निर्वाचन क्षेत्र छ भने विहार र मध्यप्रदेशमा ६ लाख जनसंख्याको निर्वाचन क्षेत्र छ ।
पहिला पाँच नम्बर क्षेत्र टुक्र्याउने अनि त्यसपछि अरु भूभाग पनि टु्क्र्याउने योजना छ । त्यसलाई हामी कदापि पूरा हुन दिँदैनौँ । एक, दुई, तीन कुनै हालतमा प्रदेश नम्बर पाँचका जिल्लाहरुलाई टुक्र्याउन दिन्नौँ ।
सीमा रक्षाका लागि गोविन्द गौतम मारिए । तर, प्रभुका अगाडि पुष्पकमल दाहाल बोल्न सकिरहेका छैनन् ।
केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले राष्ट्रिय एकता, सद्भाव र समृद्धिका पक्षमा रहेका कारण सबै जातजाति, भाषा र संस्कृतिका जनतालाई जोड्ने पुलका रुपमा रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन हुन नदिएर नेपाललाई गरिब, अभावग्रस्त र पछ्यौटे राखिरहने कोसिस भइरहेको छ र केही शक्तिहरु त्यसका लागि सक्रियतापूर्वक लागिरहेका छन् । पहाड र तराई छुट्याएर मुलुकलाई कमजोर बनाउने सरकारको अभियानलाई एमालेले स्वीकार गर्दैन, कर्णाली र महाकाली नदी सुक्न सक्छन्, तर एमालेले मान्दैन ।’ उहाँले अब सुखी र समृद्ध जनताको मुलुक बनाउने संकल्पका साथ आर्थिक सामाजिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले एमालेलाई मधेसविरोधी भनेर आरोप लगाउनेहरुले इतिहासको अध्ययन नै नगरेको बताउनुभयो । एमाले सरकारमा जानुभन्दा पहिला ४६ जना मधेसीहरुको मृत्यु भएको स्मरण गराउँदै एमालेले सरकारको नेतृत्व गरेपछि मधेस आन्दोलन सकिएको, नाकाबन्दी खुलेको, पीडितलाई राहत दिएको, मधेसलाई बजेटको व्यवस्था गरेको बताउनुभयो ।
नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलको अध्यक्षता र सांसद विश्रामप्रसाद चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा कांग्रेस, माओवादी पार्टी छाडेर एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

फागुन ३० गते ।