एमालेको मेची—महाकाली अभियान नेपालगञ्ज पुग्यो, मधेसी मोर्चाव्दारा अवरोध गर्ने प्रयास,एमाले कार्यकर्ता बोकेको बसमा पेट्रोलबम प्रहार ,ठूलो संख्यामा प्रहरी परिचालन

नेपालगन्ज । नेकपा एमालेको मेची —महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज नेपालगन्जमा हुने आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्ने प्रयास गरेको छ ।
मोर्चाले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका सवारीलाई रोकेका छन् । एमालेको सभाविरुद्ध मोर्चाले बन्दसमेत आह्वान गरेका छन् ।
सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एमालेले रामलीला मैदानमा आमसभाको तयारी गरे पनि मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच,एमालेले गर्न लागेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा पेट्रोल बम हानेका छन्।
एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ। उक्त गाडीले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै थियो। पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बजारमा भने बन्दको खासै प्रभाव छैन।
चैत १ गते ।