चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रम दाहालको आग्रह

काठमाडौं, १४ चैत । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङमा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट गरे ।
मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नुभएको धारणा राखे । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियालिरहेको उल्लेख गर्दै उहाँले ती संस्थाले पनि आफ्नो मुलुकलाई लगानीको अवसर भएको मुलुकका रूपमा चित्रण गरेकाले चिनियाँ लगानीकर्ताका लागि यो उपयुक्त अवसर भएको बताए ।
नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी गराए । लगानीका लागि उर्वरभूमि नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उहाँले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने बताए ।
नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र आध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने बताए । भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको धरणा राखे ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी (एफडिआई) गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गरे । चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको बताए ।