राजस्व संकलनमा सुधार ल्याउन आग्रह

काठमाडौं, १६ चैत । सरकारी अधिकारीहरुले राजस्व संकलनको लक्ष्य प्राप्तिकालागि सवैखालका संभावित उपायहरु अवलम्वनगर्नुपर्ने खाँचो औंल्याएका छन् । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा राजस्व संकलनको लक्ष्य प्राप्तिमा कठीनाई देखिएपछि सरोकारवाला अधिकारीहरुवीच यस्तो छलफल भएको हो ।
अर्थ मन्त्रालयका सचिवद्धय, प्रमुख आर्थिक सल्लाहकार, महालेखा नियन्त्रक एवं मन्त्रालयका पदाधिकारीहरु, राजस्व संकलनसँग सम्बन्धित विभागका प्रमुखहरु र काठमाडौ उपत्यकास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा अर्थ मन्त्रालयलेमा वुधबार भएको चालु आर्थिक बर्षको प्रथम आठ महिनाको राजस्व संकलन प्रगतिको समिक्षाकाक्रममा यस्तो धारणा राखेका हुन् ।
समिक्षाका अवसरमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पूण्यप्रसाद रेग्मीले राजस्व परिचालन अपेक्षित रुपमा हुन नसक्नुको कारण पहिचान एबं विश्लेषण गरी अघि बढ्नुपर्ने, राजस्व चुहावट नियन्त्रण गस्तिलाई सूचनाका आधारमा गोप्य रुपमा परिचालन गरी राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राजस्व परिचालनका सम्बन्धमा जिम्मेवार पदाधिकारीहरुले सामुहिक रुपमा समिक्षा गरेर अघि बढ्नुपर्ने धारणा समेत त्य अवसरमा राखे ।
अर्थ सचिव डा. शान्तराज सुवेदीले अपेक्षित राजस्वको लक्ष्य हासिल गर्ने रणनीति बनाएर अघि बढ्न, आर्थिक गतिविधिमा भएको विस्तार अनुरुप राजस्व परिचालन बढाउन क्रियाशिल रहन, राजस्व अनुसन्धान विभागले सूचना र प्रमाणमा आधारित भएर नतिजामूलक अनुसन्धान गर्ने र अनुसन्धानलाई वस्तुगत बनाउनुपर्नेमा जोड दिए । उनले मुल्य अभिवृद्धि कर तर्फ शुन्य विबरण पेश गर्ने र विवरण पेश नगर्ने (नन फाइलर) करदाताहरुको गहन विश्लेषण गरी शुन्य विवरण र नन फाइलर संख्या अपेक्षित स्तरमा घटाउनुपर्ने खाँचो औंल्याए ।
छलफलकाक्रममा सचिव सुवेदीले कर परीक्षणलाई अनुसन्धानमा आधारित बनाउनुपर्ने, आन्तरिक राजस्व विभाग अन्तर्गतको सूचना ब्यबस्थापन प्रणालीलाई थप आधुनिक र सूचनामूलक बनाउनु पर्ने, बेरुजु अशुल फर्छ्यौट र बक्यौता अशुलीमा सक्रियताका साथ लाग्नुपर्ने,बजार अनुगमन र बिलिङ्ग इन्फोर्समेन्टलाई निरन्तर र सक्रिय बनाउनुपर्ने वताए । उनले कर्मचारीलाई कार्यालयको आवश्यकतामा आधारित तालिम प्रदान गर्नुपर्ने, विभागद्धारा आफ्नो मातहतका कार्यालयहरुको कार्य सम्पादनको स्थलगत अनुगमन नियमित रुपमा गर्नुपर्ने, सम्पूर्ण कर्मचारीहरुले उत्तरदायी भएर आफ्नो कार्यसम्पादन गर्दै अपेक्षित राजस्व परिचालनमा लाग्न र अर्को समिक्षा बैठकमा आउँदा ठोस उपलब्धीको साथ उपस्थित हुन निर्देशन समेत दिए ।
त्यसक्रममा राजस्व सचिव राजन खनालले कर विबरणनै सूचनाको मुख्य श्रोत भएकाले मु.अ.कर विवरणको विश्लेषण गरी शुन्य विबरण र क्रेडिट विबरणको कारणको खोजी गर्नुपर्ने, कानुनी प्रकृयाको पूर्ण परिपालना गरी कार्यसम्पादन गर्नुपर्ने, राजस्व अनुसन्धान विभागले उपयुक्त रणनीति बनाएर मात्र अनुसन्धान कार्य सञ्चालन गर्नुपर्ने, कार्यगत विष्लेषणको आधारमा आगामी संघीय संरचनामा राजस्व परिचालनको संरचना एकीन गरी प्रस्ताव गर्नुपर्ने वताए । उनले अनुसन्धान र परीक्षण सम्बन्धी निर्णयहरु गर्दा पूर्वाग्रही नभएर स्वच्छ मनसायबाट गर्नुपर्ने, विभागहरुबाट कार्यालयहरुको नियमित अनुगमन गरी आवश्यक प्रशिक्षण र तालीम प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यसै गरी महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले सरकारी कार्यालयबाट हुने सम्पूर्ण भुक्तानीहरुको करदाताको स्थायी लेखा नं. सहितको विवरण प्राप्त गर्न सकिने गरी सूचना ब्यबस्थापन प्रणालीमा सुधारको थालनी गरिएको धारणा व्यक्त गरे ।
कार्यक्रममा आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, राजस्व प्रशासन तालिम केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखहरु र काठमाडौं उपत्यकास्थित आन्तरिक राजस्व तथा भन्सार कार्यालयका प्रमुखहरुले आ(आफ्नो विभाग र कार्यालयको राजस्व प्रगति विवरण प्रस्तुत गरेका थिए ।
अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख विष्णुप्रसाद नेपालले चालु आर्थिक बर्ष २०७३÷७४ को पहिलो आठ महिनाको राजस्व प्रगति विवरण प्रस्तुत गरेका थिए ।